काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी र प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँ को शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ ।
प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरूले सेवा अवधि पुरा भएकाले उनीहरुलाई फूलमाला लगाई बिदाइ गरेका हुन् ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक लोहनीले संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति धन्यबाद व्यक्त गरे ।
सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीहरू आम नागरिकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिदैं संगठनको श्रीवृद्धिका लागि केन्द्रीत भई ईमान्दारीपूर्वक निर्वाह गरेको समेत बताए ।
सो कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक दिल्ली राज पन्तले संगठनको श्रीवृद्धि र प्रहरी सेवालाई प्रभावकारी तथा नगारिकमैत्री बनाउनका लागि उहाँहरूको योगदानको स्मरण गर्दै अवकाश पश्चात पनि सल्लाह, सुझाव र निर्देशन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे
सोही अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरी र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले सेवानिवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी र प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँलाई कार्यालयको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । सेवानिवृत्त हुन लागेका प्रहरी अधिकृतहरू २०४९ चैत ११ गते प्रहरी सेवामा प्रवेश गरी अनवरत रुपमा ३० बर्ष प्रहरी सेवामा आबद्ध भई अनिवार्य अवकाश भएका हुन् ।




