काठमाडौं । शहिद स्मारक ए डिभिज लिग अन्तर्गत सातदोबाटो युथ क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।
बुधबार ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा विभागीय टोली एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले लगातार दोस्रो जित निकालेको हो ।
सातदोबाटोको जितमा खेलको ५५औं मिनेटमा विलियम एसिडुले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस जितसँगै सातदोबाटोले २ खेलमा ६ अंक जोडेको छ । सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई पराजित गरेको थियो ।
त्यस्तै पहिलो खेल जितेको एपीएफले भने दोस्रो खेलमा हार बेहोरेको छ । एपीएफले पहिलो खेलमा थ्री स्टार क्लबलाई पराजित गरेको थियो ।




