काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दोस्रो चरणको खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
हिमालय शेर्पाको जितमा खेलको इन्जुरी समय ९६औं मिनेटमा अमृत श्रेष्ठले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस अघि खेलको ३१औं मिनेटमा हिमालयन शेर्पाले पाएको पेनाल्टीलाई पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाएका थिए । चौधरीले हिमालयन शेर्पाका निशान लम्बुले हानेको बल रोकेपनि खेलको इन्जुरी समयमा रोक्न नसक्दा पुलिसले हार बेहोरेको हो ।
यो जितपछि हिमालयन शेर्पाको २ खेलमा ४ अंक भएको छ भने नेपाल पुलिस क्लबले लगातार दोस्रो हार बेहोरेको छ ।




