समाचार

भण्डारीको निधनमा नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका माननीय सदस्य डा. चन्द्र भण्डारी र उहाँकी ममतामयी माता हरिकला भण्डारीको बुधबार राति खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भई गम्भीर घाइते भई कीर्तिपुर अस्पतालमा उपचारका क्रममा माता हरिकला भण्डारीको आज निधन भएको घटनाप्रति नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नु भएको विज्ञप्तिमा डा. चन्द्र भण्डारीको श्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिएको र नेपालमा उपचार सम्भव नभएकोले चिकित्सकको सिफारिश बमोजिम थप उपचारका लागि आजै श्री एयरलाइन्सको विमान मार्फत् भारतको मुम्बईस्थित नेशनल वर्नस् सेन्टरमा लगिएको उल्लेख गरिएको छ । नेपाली कांग्रेसले घाइते डा. भण्डारीको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेको छ ।

विज्ञप्तिमा कांग्रेसले भनेको छ ः लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय रहँदै आउनु भएकी ममतामयी माता ८६ वर्षीया हरिकला भण्डारीको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ । साथै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गर्दै साथ शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस गहिरो समवेदना प्रकट गरेको उल्लेख गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *