काठमाडौं । नागरिकताको वैधानिकताबारे सर्वोच्चको आदेशपछि सांसद र गृहमन्त्रीबाट पदमुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शिर्ष नेताहरुसँगको भेटवार्तालाई तिव्रता दिएका छन् ।
अवैध नागरिकताका आधारमा चुनावमा सहभागी भएको पुष्टि भएपछि सर्वोच्चले उनको सांसदको पद खारेज गर्ने आदेश गरेपछि लामिछानेले फेरी नागरिकता लिइसकेका छन् । नागरिकता नै नभएपछि उनी पार्टीको साधारण सदस्य समेत रहेका थिएनन् । तर आफ्नै पार्टीको विधानविपरित एकैदिन सदस्यता लिएका लामिछाने पार्टीको सभापति समेत बनिसकेका छन् ।
सभापति बनेपछि गैरसांसदका रुपमा ६ महिनासम्म गृह मन्त्रालयको नेतृत्वका लागि प्रधानमन्त्री प्रचण्डसँग अनुनय विनय गरेका लामिछानेले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेटवार्ता गरे । भेटवार्ताका क्रममा भएको छलफलबारे लामिछानेले अहिलेसम्म मुख खोलिसकेका छैनन् ।
तर मंगलबार बिहानै प्रधानमन्त्री प्रचण्ड भेट्न पुगेका लामिछानेले एमाले अध्यक्ष ओलीसँगको भेटका क्रममा समेत फेरी मन्त्री बनाइदिन आग्रह गरेको बुझ्न कठिन छैन । जबकि राष्ट्रिय स्वतन्त्र पार्टीकै विधानमा गैरसांसदलाइ मन्त्री नबनाउने उल्लेख छ । पार्टीको विधानमै गैरसांसद मन्त्री नबनाउने व्यवस्थाविपरित लामिछाने आफै भने गैरसांसदका रुपमा मन्त्री बन्ने कोशिश गरिरहेका छन् ।
गृह मन्त्रीमा सके आफै नसके आफुले शिफारिस गरेको रास्वपाको नेता हुनुपर्ने माग लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग राखिसकेका छन् । उनले मंगलबार बेलुकासम्म मन्त्री नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका अपुष्ट खबर समेत सार्वजनिक भएका थिए ।




