काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताएका छन् । कांग्रेस संसदीय दलको नेतामा बुधबार बिहान निर्वाचित भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताए ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बन्द कोठामा हुने आलोपालो प्रधानमन्त्रीको भागवन्डा कांग्रेस पार्टीले जिम्मेवारी नलिने चेतावनी दिएका छन् । संसदीय दलको नेता पराजित भएपछि पत्रकारसँग कुरा गर्दै महानमन्त्री थापाले विगतमा कोठाभित्र भएका गोप्य सहमतिहरु धोकामा परिणत भएको भन्दै यसपटक पनि बन्द कोठाभित्र सहमति भए पछि त्यसको जिम्मा पार्टी नलिने चेतावनी दिएका हुन् ।
सर्वोच्च अदालतले विकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई छाड्न आदेश दिएको हो ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ज्येष्ठ सदस्यको रुपमा राप्रपा नेता पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएपछि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरिएको छ ।
डेढ वर्षपछि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच अनौपचारिक छलफल र संवाद भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको सपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल भएको हो ।
काठमाडौं महानगरले बुधबार पनि अवैध संरचनामाथि डोजर चलाएको छ । अनामनगरको देवीनगरस्थित धोबीखोला करिडोर क्षेत्रमा बनाइएका अवैध संरचनामा महानगरले बुधबार डोजर चलाएको हो । सरकारी जग्गा कब्जा गरी अवैध रूपमा बनाइएका संरचनामा डोजरमा डोजर चलाएको महानगरले जनाएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँगको व्यापारिक नाका तातोपानी पूर्णरुपमा खुलाउन पहल भइरहेको बताएका छन् । सिन्धुपाल्चोक क्षेत्र नं १ का निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा नेतृत्व टोलीको ज्ञापनपत्र बुझेपछि उहाँले भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिपरेको बताए ।
युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी बुधबार क्रेमलिनले दिएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणका क्रममा वासिङ्टनले कीभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षबीच क्रेमलिनले युक्रेनलाई सहयोगी राष्ट्रले थप हतियार उपलब्ध गराउँदा द्वन्द्व चर्किने बताएको हो ।
विश्वकप च्याम्पियनलाई स्वागत गर्न अर्जेन्टिनाको राजधानी व्युनस आयर्समा मंगलबार लाखौं समर्थक सडकमा भेला भएका छन् । खेलकुद टोलीको बस व्युनस आयर्समा पुग्दा भिड नियन्त्रण गर्न सुरक्षा बललाई हम्मे हम्मे परेको थियो । विश्व कप टोली बिहान ३ बजे विमानस्थलमा उत्रिएपछि रजाधानीमा ठूलो भिड बढेको थियो ।




