काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार धनगढी पुगेका छन् । सभापति देउवा नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पुगेका हुन् ।
बिहीबारदेखि चार दिन सभापति देउवा आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको गृह जिल्ला डडेल्धुरामा चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
सभापति देउवाले बिहिबार डडेल्धुराको अमरगढी नगरपालिकास्थित बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नेछन् ।
१८ गते बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडालको चुनावी सभामा सहभागी हुनेछन् । सभापति देउवा १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।




