काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले महानगर कसैलाई हराउने खेलमा नलागेको बताएका छन् । फोहोरमैला संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका क्रममा महानगरले झेलेका दुःखको प्रसङ्ग उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।
‘फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो । जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो ।’ ल्याण्डफिल साइडमा फोहोर ढुवानीबारे जानकारी दिदै उनले भने,‘२ सय भन्दा बढी प्रहरी परिचालन गरेर फोहोरका गाडीहरु बञ्चरे लगियो । केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास भयो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो ।’
अहिलेसम्म भोगेका र देखिएका समस्या सतही मात्र भएको उल्लेख गर्दै प्रमुख शाहले गहिरा कारण अरुपनि भएको बताएका छन् । ‘राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ ? सुरक्षाकर्मीलाई स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’ प्रमुख शाहको प्रश्न छ ।




