समाचार

निर्वाहमुखी भएर बस्ने छुट अब कसैलाई छैन : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश र जनताको हितका निमित्त आफ्ना गति अझ तेजका साथ अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन् ।

उनले अब निर्वाहमुखी भएर बस्ने छुट कसैलाई पनि नभएको बताएका छन् । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को पाँचौं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रवक्ता समेत कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिवद्ध रहेको पनि बताएका हुन् ।

त्यस अवसरमा मन्त्री कार्कीले आफू भाषण नभई व्यवहारिक रुपमै पत्रकारहरुको साथमा रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । अबको दश वर्षपछि सुन्दर, सभ्य र समृद्ध राष्ट्रको नागरिक बन्ने गरी नेपालले अघि बढ्नुपर्ने उल्लेख गर्दै मन्त्री कार्कीले त्यस काममा मुलुकको पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘अबको दश वर्षपछिको नेपाल अन्तर्राष्ट्रिय जगतमा गएर हामी द्वन्द्व पीडित मुलुकको नागरिक हुन नपरोस्। हामी विकासोन्मुख दिशातर्फ अघि बढिरहेको देशको नागरिक भन्न नपरोस् । हामी सुन्दर, सभ्य, समृद्ध देशका नागरिक बन्न सकौं । यो अठोटका साथ हामी अगाडि बढौं ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *