काठमाडौँ । संसदीय विशेष छानबिन समितिको बैठक शुरु भएको छ । बैठक केहीबेर अघि सिंहदरबारमा शुरु भएको हो । बैठकमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिइनेछ । उनी पनि बैठकमा सहभागी भएका छन् ।
शर्मामाथि बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा ‘अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको’ आरोप लगाइएको छ । निश्चित व्यापारिक घरानालाई फाइदा हुनेगरी बजेट निर्माण गरेको विषयमा ‘थप बुझेर छलफल गर्न बोलाइएको’ समिति सचिवालयले जनाएको छ ।
समितिका अनुसार आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक भएको र समितिको समयावधि थप गर्नेबारे पनि छलफल गर्नुपर्ने भएकाले ‘शर्मासँग मात्रै छलफल गर्न बिहानको समय निर्धारण गरिएको’ हो । यसअघि, गत मंगलबार समितिले बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित १० जनासँग छलफल गरिसकेको छ ।
संसदीय विशेष छानबिन समितिमा सांसदहरू लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य छन् ।
करको दर हेरफेर तथा बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको प्रवेश प्रकरणमा तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । उनको राजीनामा अघि नै प्रतिनिधिसभाले छानबिन समिति बनाएको थियो ।




