सम-सामयिक

चिनियाँ नेता लिउले आज ओली, प्रचण्ड, नेपाल र खनाललाई भेट्दै

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज (सोमबार) नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दैछन् । बिहान सुन्दरीजल क्षेत्रको भ्रमण गरेपछि उनीसहितको टोलीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ ।

त्यसपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेट्ने कार्यक्रम तय भएको छ । लिउले भोलि (मंगलबार) बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । लिउ बुधवार बेइजिङ फर्किने कार्यसूची छ ।

हिजो काठमाडौं आएका उनले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेटेका थिए । भेटमा उनले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्नेमा जोड दिएका थिए ।
नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको उनले बताएका छन् ।

सीपीसीका विदेश विभाग प्रमुख लिउले आफ्नो भ्रमण नेपालका राजनीतिक दलहरुसँग सहकार्य गर्न र सम्बन्ध बढाउनको लागि पनि भएको उल्लेख गरेका छन् । नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएपछि नेपाल भ्रमण गर्ने लिउ दोस्रो उच्च चिनियाँ अधिकारी हुन् । यसअघि गएको चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *