समाचार

यादवलाई मन्त्री बनाइनु ‘संविधानविपरीत’ भन्दै सर्वोच्चमा रिट

काठमाडौं । जसपाको तर्फबाट सोमबार मात्र कृषिमन्त्री बन्दै सपथ पनि खाइसकेका मृगेन्द्रकुमारसिंह यादवविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

उनको नियुक्ति संविधाविपरीत रहेको ठहर गर्दै अधिवक्ता अनुपम भट्टराईले मंगलबार सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका यादवलाई संविधानको मर्म र भावनाविपरीत मन्त्री बनाइएकाले उनको नियुक्ति खारेज गरिनुपर्ने माग रिट निवेदकको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जसपाबाट तीन जनालाई मन्त्री नियुक्त गरेका थिए, जसमा यादवलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीका रुपमा नियुक्त गरिएको थियो ।

संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य नहुने उल्लेख छ ।

प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी ४ बाट पराजित भएका यादवलाई पछि राष्ट्रियसभामा तानिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *