कञ्चनपुर । कञ्चनपुरका नौ पालिकामध्ये स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले एक/एक पालिकामा जित निकालेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार यहाँको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना निर्वाचित भएका छन् ।
प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मदनसेन बडायकलाई १,६५८ मतान्तरले पराजित गर्दै एमालेका राना निर्वाचित भएका हुन् । निर्वाचित रानाले ४,५१६ मत ल्याएका छन् भने बडायकले २,८५८ मत प्राप्त गरेका छन् । यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट बडायक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै उम्मेदवार सपना चौधरी राना निर्वाचित भएकी छन् । उनले कांग्रेसका राधा रानालाई पराजित गर्दै उपाध्यक्ष पद सुरक्षित गरिन् । यसैगरी यहाँको बेल्डाडी गाउँपालिकामा कांग्रेसबाट उम्मेदवार रहेका हरिचन्द्र राना अध्यक्ष पदमा निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसकै शान्तिनाथ निर्वाचित भएका छन् ।
अध्यक्ष पदमा निर्वाचित राना कांग्रेसका उपसभापति समेत हुन् । उनले ४,२०१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार अक्कलबहादुर विष्टले २,३०१ मत प्राप्त गरेका छन् । सो पालिकामा यसअघिको निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका थिए ।
त्यसैगरी यहाँको दक्षिण क्षेत्रमा पर्ने बेलौरी नगरपालिकामा माओवादीका उम्मेदवार पोतिलाल चौधरी दोस्रो पटक नगर प्रमुख पदमा निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा चौधरी पहिलो पटक बेलौरी नगरपालिकाको नेतृत्वमा पुगेका थिए ।
नगर प्रमुखमा चौधरीले ८,७८७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार कमला बोहराले ६,८०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेलौरी नगरपालिकाको उपप्रमुखमा भने एमालेका जोगराम चौधरी ७,५८३ मतसहित निर्वाचित भएको बेलौरीस्थित निर्वाचन अधिकृत तारासिंह धामीले जानकारी दिइन् ।
त्यसैगरी यहाँको भीमदत्त नगरपालिका, बेदकोट र कृष्णपुर नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ भने दोधारा चाँदनी र शुक्लाफाँटा नगरपालिकामा एमालेका उम्मेदवार जारी मतगणनामा अग्रता लिइरहेका छन् ।




