काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महिलाहरूको अपमान गर्नेलाई काठमाडौँका महिलाले मतदान नगर्ने दाबी गरेका छन् ।
काँग्रेसको काठमाडौँ महानगरका विभिन्न वडाका क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले महिलालाई ‘हेट’ गर्ने उम्मेदवारलाई मतदानबाटै जवाफ दिन आग्रह गरे ।
‘एउटा महिलाद्वेषी, महिलालाई अपमान गर्ने , हेट गर्ने पात्रलाई आज एउटा पार्टीले बोकेको छ । एमालेकै महिलाहरुले पनि काठमाडौं महानगरमा सूर्यलाई भोट दिनु उहाँहरूकै अपमान भइसकेको छ । त्यसैले महिलाको अपमान गर्नेलाई मतदान नगरौँ’, थापाले भने ।
काठमाडौं महानगरमा एमालेले ५ वर्ष नेतृत्व गरे पनि जनताले सुविधा नपाएको थापाको दाबी छ ।
‘एमालेले ५ वर्ष काठमाडौँ चलाउन पाएको हो तर के काम गर्यो ? एमालेका उम्मेदवारले काम देखाउन सकेका छैनन् । काठमाडौँ कति सफा भयो ? कति सहज भयो ? काठमाडौँलाई कस्तो बनाउने भनेको थियो ? कस्तो भयो रु काठमाडौं महानगरको स्रोत साधन के भयो रु एमालेले जवाफ दिनुपर्छ । जनताले जवाफ खोज्नुपर्छ’, थापाले भने ।
उनले पार्टीभित्रका असन्तुष्टि बिर्सेर चुनावी अभियानलाई सफल बनाउन कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।




