समाचार

पोखरामा गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेस कार्यकर्ताको प्रदर्शन

पोखरा । पोखरामा सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेसकै कार्यकर्ताले अवरोध गरेका छन् । आज (बिहीबार) दिउँसो २ बजे पोखरा महानगरपालिकाका लागि संयुक्त घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम भए पनि वडा तहमा भागबण्डा नमिलेको भन्दै कांग्रेस कार्यकर्ताले नाराबाजीसहित अवरोध गरेका हुन् ।

कार्यक्रमस्थल माटेपानीस्थित एसआर केसी ब्यांक्वेटको मुख्य गेटमै ताला लगाएर कांग्रेस कार्यकर्ताले अवरोध गरेका छन् । शुरुदेखि नै महानगरको मेयर नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई दिने निणर्यले कांग्रेसका स्थानीय कार्यकर्ता असन्तुष्ट छन् । त्यसपछि मेयर र उपमेयरमा तालमेल भए पनि वडा तहमा आफूखुशी उम्मेदवार उठाउने निणर्य भएपछि विवाद केही मत्थर भएको थियो ।

वडा नम्बर १८, २२ र २४ नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएपछि त्यहाँका कांग्रेस कार्यकर्ता असन्तुष्ट बनेका हुन् । असन्तुष्ट कांग्रेस कार्यकर्ताले जिल्ला सभापति किशोरदत्त बराललाई कार्यक्रमस्थलमा प्रवेश नदिने बताएका छन् । मेयरका उम्मेदवार आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाट भने कार्यक्रमस्थलमै छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *