समाचार

५ बजेसम्म लाइन बस्नेहरूले मनोनयन दर्ता गर्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले सोमबार अपराह्न ५ बजेसम्म उम्मेदवारी दिन लाइन बसेकाहरूको मनोनयन दर्ता गर्ने भएको छ ।

सोमबार धेरै मनोनयन दर्ता हुने अनुमान गर्दै आयोगले अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गर्नेलाई मनोनयन दर्ता गर्न दिने भएको हो ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार मनोनयन दर्ता गर्न चाहनेले सोमबार अपराह्न ५ बजेसम्म सम्बन्धित जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरिसक्नुपर्नेछ ।

निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ३ लाख भन्दा बडी मनोनयन दर्ता हुने अनुमान गरेको छ । तर सोमबार दिउँसो १२ बजेसम्म मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यमा गरी साढे १६ हजार जनाको मात्र उम्मेदवारी दर्ता भएको छ ।

सोमबार दिउँसो २ बजेदेखि मनोनयन दर्ताको चाप बढ्न सक्ने आयोगको अनुमान छ । त्यसैले अपराह्न पाँच बजेसम्म लाइनमा बसेका सबैको मनोनयन दर्ता गर्न लागेको हो ।

आयोगले सोमबार साँझ अबेरसम्म पनि लाइनमा बसेकाहरूको मनोनयन दर्ता भइरहने आयोगको अनुमान छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *