काठमाडौं । नेपाली कांग्रेसभित्र महानगर र उपमहानगरको उम्मेदवार छान्न सकस देखिएको छ ।
शनिबार दिनभर सभापति शेरबहादुर देउवाले पार्टीका शिर्ष नेताहरुसँग छलफल गरेपनि कुनै निर्णयमा पुग्न नसकेपछि शनिबार दिउँसोका लागि बोलाइएको कार्यसम्पादन समितिको बैठक नै स्थगित भएको थियो ।
सत्ता गठबन्धनका बिचको भागबण्डामा कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगरसहित ७ वटा उपमहानगरको उम्मेदवारी चयनमा कांग्रेसभित्र छलफल हुँदै आएको छ ।
दिनभरको छलफलमा सहभागी एक नेताका अनुसार काठमाडौं महानगरपालिकामा सिर्जना सिंहलाई उम्मेदवार बनाउने करिब निश्चित भएको छ । ललितपुरमा अहिलेका मेयर चिरिबाबु महर्जन र प्रेमकृष्ण महर्जनका बिचमा एकले अर्कोलाई सहयोग नगर्ने अबस्था बनेपछि संविधानसभा सदस्य समेत रहेका चन्द्र महर्जनका बारेमा छलफल भएको छ ।
त्यस्तै विराटनगर महानगरको उम्मेदवारमा अमृत अर्याल, अहिलेका मेयर भीम पराजुलीका बारेमा केन्द्रीत रहेर छलफल भएपनि शनिबार कुनै निष्कर्ष निस्कन नसकेको ति नेताले बताए ।




