काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित भएपछि राजदूत नियुक्तिको विषयलाई प्राथमिकता दिएका छन् ।
देउवाले यसबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि आन्तरिक छलफल थालेका छन् भने सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल थालेका हुन् ।
आगामी मन्त्रिपरिषद बैठकबाट राजदूत सिफारिस तयारी भइरहेको परराष्ट्रमन्त्री नारायण खड्काका स्वकीय सचिव लीला भट्टराईको भनाई छ । स्थानीय निर्वाचनमा चुनावी आचारसंहिता लाग्ने भएकाले अब केही दिनमै राजदूत नियुक्तिको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । स्थानीय निर्वाचनअघि नै सबै देशमा राजदूत नियुक्त गरिने उनले बताएका छन् ।
गठबन्धनको पछिल्लो बैठकमा देउवाले प्रचण्ड, नेपाल र उपेन्द्र यादवलाई राजदूतको नाम दिन आग्रह गरेका छन् । नेपालका तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग (न्युयोर्क, जेनेभा र भियना) र ३० देशमा दूतावास छन् । कुल ३० वटा मध्ये हाल १० वटा मुलुकमा मात्र राजदूत छन् । उनीहरु १० जना परराष्ट्र मन्त्रालयका करिअर राजदूत हुन् । बाँकी २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ ।
तीमध्ये केहीमा चार वर्षदेखि राजदूत पद रिक्त छ भने भने केहीमा केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक रुपमा नियुक्ति गरेका राजदूतहरुलाई फिर्ता बोलाएपछि पद रिक्त भएको थियो ।
राजनीतिक कोटाबाट १३ जना र परराष्ट्र सेवाबाट सात जनालाई राजदूत नियुक्ति गर्न लागिएको छ । जसमा चीन, श्रीलंका, दक्षिण कोरिया, म्यानमार, मलेसिया, डेनमार्क, इजिप्ट, ब्राजिल, साउदी अरेबिया, दक्षिण अफ्रिका, बहराइन, इजरायल, स्पेन, ओमान, अस्ट्रेलिया, कतार, बंगलादेश, जापान र भियनामा राजदूत नियुक्तिको तयारी भइरहेको छ ।




