समाचार

कांग्रेसले तीनै तहको निर्वाचनमा बहुमत ल्याउछ : नेता बस्नेत

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले कांग्रेस समृद्ध नेपाल निर्माणको अभियानमा लाग्ने बताएका छन । नेपाल तरुण दलका अध्यक्षसमेत रहेका बस्नेतकाे सम्मानमा आज तरुण दल केन्द्रीय कार्यालयमा आयोजना गरिएको ‘सम्मान कार्यक्रम’मा पार्टीको १४ औँ महाधिवेशनले आगामी दिनमा पार्टीको भविष्य उज्ज्वल बनाएको बताएका हुन ।    

“कांग्रेसले आगामी दिनमा तीनै तहको निर्वाचनमा बहुमत ल्याएर समृद्ध नेपाल बनाउने अभियानमा लाग्नेछ,”उनले भने। कांग्रेसलाई आगामी दिनमा ठूलो, राम्रो र जनताको पीरमर्का बुझ्ने पार्टी बनाउने उनको भनाइ थियो । आगामी तीनै तहको निर्वाचनमा तेरो मेरोभन्दा पनि राम्रो व्यक्तिलाई टिकट दिनुपर्ने उनले बताए ।    

नेता बस्नेतले पार्टीका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले देखाएको इमान्दारिता र निष्ठाको बाटोमा हिँडेमात्र कांग्रेस बलियो बन्ने उल्लेख गरे। तरुण पार्टीको मेरुदण्ड भएकाले आगामी दिनमा तरुण दललाई बलियो बनाउनका लागि आफ्नो साथ र सहयोग रहने उनको भनाइ थियो ।    

तरुण दलका उपाध्यक्ष उत्तम चापागाईँले अध्यक्ष बस्नेतको जीत सिङ्गो देशभरीको तरुणको जित भएको जनाउँदै तरुणका साथीलाई आगामी दिनमा समेटेर अगाडि बढ्न आग्रह गरे। संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *