काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूलाई पार्टी कार्यालयमा बोलाएर नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्देशन दिएका छन् ।
आईतबार पार्टी कार्यालयमा बोलाएर अध्यक्ष नेपालले नवनियुक्त मन्त्रीहरूलाई इमान्दार र कर्तव्यनिष्ठ भएर देश र जनताको हितमा काम गर्न निर्देशन दिए ।
निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिबाट मुक्त हुन समेत नेपालले सचेत गराएका छन् । कुनै पनि संस्थामा व्यक्तिको छनोट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न उनले सुझाव दिएका छन् ।
‘बदनामी कमाउने र विवादमा पर्ने कुनै पनि काम तपाईंहरूबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौं । स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्नुहुनेछ । फलानो मन्त्री रक्सी खाएर माते, बेलुका–बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरूसँग बसेर यिनै कुरा गरिरहेका छन् भन्ने कुरा सुन्नु नपरोस्,’ नेपालले भने, ‘सिधा कुरा – रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरू सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरू तपाईंहरूबाट नहोस् ।’
उनले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुमाथि अगाडि नै सामूहिक रूपमा बसेर, छलफल गरेर साझा राय बनाएर मात्रै प्रस्तुत हुनुपर्ने सुझाव दिए । सिंगो मन्त्रिपरिषद्ले गर्ने निर्णयको जस–अपजसको भागिदार सबै मन्त्री हुने उल्लेख गर्दै अध्यक्ष नेपालले मन्त्रिपरिषद्का विषयवस्तुहरू पार्टीलाई पनि जानकारी गराई, पार्टीको मार्गदर्शन लिएर प्रस्तुत हुनुपर्ने बताएका छन् ।




