राजनीति

माओवादी केन्द्र कानुनी उपचारमा जाने, एमाले के भन्छ ?

काठमाडौँ । नेकपा (एमाले)को विधान महाधिवेशनले पारित गरेको नयाँ लोगो विवादमा परेको छ । माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो हँसिया हथौडा लोगो एमालेले प्रयोग गर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको हो ।

नेकपा (माओवादी केन्द्र)ले आफ्नो चुनाव चिन्हको रुपमा गोलाकार भित्रको हँसिया हथौडा प्रयोग गर्दै आएको छ । एमालेले पनि यसअघि वर्गाकार कोठामा सानो साइजको हँसिया हथौडा राखेर त्यसको मुनि युएमएल लेखिएको लोगो प्रयोग गर्दै आएको थियो तर, हालै ललितपुरको गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनले पुरानो लोगो परिवर्तन गरी सूर्यभित्र गोलाकार आकारको हँसिया हथौडा राखिएको लोगो पारित गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आपत्ति जनाएका छन् ।

एमाले र माओवादीबीच पार्टी एकता हुँदा दुवै पार्टीका चुनाव चिन्हलाई मिलाएर लोगो प्रयोगमा ल्याइएको थियो । पार्टी विभाजनपछि पनि एमालेले त्यसैलाई निरन्तरता दिनेगरी बनाएको लोगो कानुनविपरीत रहेको भन्दै सचेतक गुरुङले आपत्ति जनाएका हुुन् ।

यस विषयमा माओवादी केन्द्रले कानूनका जानकारहरूसँग छलफल तथा कानूनी परामर्श गरी कानुनी उपचारमा जाने गुरुङको भनाई छ । ‘यसबारेमा पार्टीमा छलफल भइरहेको छ । हामीले कानूनी परामर्श गर्दैछौँँ’ उनले भने ।

तर, नयाँ लोगोमा माओवादी केन्द्रको दाबी नपुग्ने एमालेका नेता बताउँछन् । ‘पहिलो कुरा हँसिया हथौडा उहाँहरूको चुनाव चिह्न होइन । हँसिया अथौडा भएपनि गोलाकारभित्रको हँसिया हथौडा त होइन नि । दोस्रो त, हँसिया हथौडा कम्युनिष्ट सबै पार्टीहरूको साझा झण्डा हो । उहाँहरूले कसरी दाबी गर्नुहुन्छ ?’ एमालेका एक नेताले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *