काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा युवा नेतृत्व, महिला, समावेशिताका सवालमा अनेक उदाहरण देखिँदैछन् ।
कांग्रेस यत्तिकैमा सीमित छैन, कांग्रेसमा नवप्रवेशीलाई पनि सम्मान मिल्ने उदाहरण धादिङमा देखिएको छ ।
नेकपा माओवादी केन्द्र परित्याग गरेर कांग्रेस प्रवेश गरेका धादिङका ठाकुर गुरुङ पालिकाबाट अधिवेशनबाट नेत्रावती गाउँपालिकाको सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । कांग्रेसमा नवप्रवेशीलाई पनि सम्मान गर्दै पालिकाको नेतृत्व गर्ने अवसर दिइएको स्थानीय नेता कार्यकर्ता बताउँछन् ।
माओवादीले देशमा सशस्त्र द्वन्द्व चर्काउँदा उनी मार्पाक गाविसको निरञ्जना माविमा अध्ययनरत थिए । त्यसैबेला गाउँमा माओवादीका कार्यक्रम र प्रशिक्षणमा सहभागी हुँदै उनी माओवादी बने । तर माओवादी शान्ति प्रक्रियामा आएपछि बिग्रिएको भन्दै उनी कांग्रेस बनेका हुन् ।
उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेत्रावती गाउँपालिकाको अध्यक्ष पदमा माओवादीका तर्फबाट उम्मेदवार बनेका थिए । पार्टीमा अन्तरघात भएका कारण १३६ मतले पराजित भएपछि उनलाई माओवादीप्रति मन मर्यो । माओवादी निकट प्रेस सेन्टरको धादिङ जिल्लाका कार्यबाहक अध्यक्ष समेत रहेका गुरुङ २०७४ मंसिर ८ गते कांग्रेसनिकट नेपाल प्रेस युनियनमा प्रवेश गरेका थिए ।
गुरुङले भने, ‘जनयुद्धका नारा माओवादीले कार्यान्वयन गर्न सक्दैन भन्ने लागेपछि म देशकै पुरानो, आफ्ना बाउबाजेले मानेको पार्टीमा प्रवेश गरेको हुँ ।’
पालिका अधिवेशनका क्रममा नेत्रावती डबजोङ गाउँपालिकाको अधिवेशनमा गुरुङसहित ५ जना आकांक्षी रहेका थिए । कांग्रेसमा उनीभन्दा अनुभवी र पुरानो नेता भएपनि सबैलाई सहमत गराएर उनी सभापति बनेका हुन् ।




