देश

गुराँस फुलेसँगै टीएमजे क्षेत्रमा पर्यटकको भीड बढ्यो

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थिते तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फूलेपछि पर्यटकको चहलपहल बढेको छ ।

वैशाख १ गते नयाँ वर्षमा अनुमानित २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले तिनजुरे क्षेत्रको भ्रमण गरेको इलाका प्रहरी कार्यालय वसन्तपुरका इञ्चार्ज रुपेश तामाङले बताए ।

छिमेकी जिल्ला सङ्खुवासभा, भोजपुर, पाँचथर, धनकुटासँगै पूर्वी तराईका जिल्ला सुनसरी, मोरङ, झापाका साथै भारतको विहारलगायतका स्थानका पर्यटक आएको उनले बताए ।

चैतको दोस्रो सातायता तीनजुरे क्षेत्रमा गुराँस फुल्न थालेपछि जिल्ला बाहिरबाट दैनिक पाँच हजार पर्यटक तीनजुरे क्षेत्र आउने गरेको होटल व्यवसायी सङ्घ वसन्तपुरका अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

तिनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार वसन्तपुर बजारमा रहेको चोत्लुङ पार्क, तिनजुरे क्षेत्रमा पर्ने आरआर गार्डेन, पाभीभरा मन्दिर, तिनजुरे पिक, पाँच पोखरी, गुफा पोखरी क्षेत्रमा फुलेका गुराँस हेर्ने पर्यटकको भीडले गुल्जार बनेको छ ।

गुराँसको राजधानी टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन् । यो क्षेत्रमा वसन्तपुरस्थित नयाँ सहर आयोजनाको कार्यालयले विभिन्न पर्यटकीय संरचना निर्माण गरेका छन् ।

उक्त क्षेत्रमा साढे १० करोड बजेटको संरचना निर्माण गरिएको नयाँ सहर आयोजना कार्यालय वसन्तपुरका प्रमुख सुदीप झाले बताए । जसमा आरआर गार्डेन परिसरमा पिकनिक स्पट, शौचालय, ओपन थिएटर निर्माण गरिएका छन् ।

त्यसैगरि तिनजुरे जाने सडकको ठाउँ ठाउँमा शौचालय निर्माण गरिएका छन् । त्यसैगरी पाथीभरा मन्दिर जाने सिँढी मार्गमा छानोलगायत संरचना निर्माण गरिएको छ ।

बाह्रै महिना पर्यटक आइरहने तीनजुरे क्षेत्रमा गुराँस फुल्ने र हिउँ पर्ने सिजनमा विशेष पर्यटकीय चहलपहल बढ्छ ।

सो क्षेत्रमा पछिल्लो समय हिउँ पर्न छाडेपछि गुराँस फुल्ने समय र नयाँ वर्षको दिन पर्यटकले भरिभराउ हुने गरेको टुटेदेउरालीस्थित हिमगङ्गा होटलका सञ्चालक श्री कार्कीले बताए ।

तिनजुरे क्षेत्रको नाम धेरै सुनेकाले यसपल्ट झापाबाट परिवारसँग नयाँ वर्ष मनाउन आएको आयुष्मा राईले बताइन् । पहिलो पटक तीनजुरे क्षेत्र आएका उनलाई यहाँको चिसो मौसम, स्वच्छ हावापानी र वनमा फूलेका गुराँसले मोहित बनाएको बताइन् ।

त्यसैगरी, सुनसरीको इटहरीबाट आएका सुरेन्द्र क्षेत्रीले तिनजुरे क्षेत्र एकपटक पुग्नैपर्ने ठाउँका रूपमा आफूले पाएको प्रतिक्रिया दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *