काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले सञ्चालन गरेको ‘विशेष स्वीप अप्रेसन’ का क्रममा पछिल्लो २४ घण्टामा विभिन्न मुद्दामा संलग्न १०१ जनालाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार गएको २४ घण्टामा अदालतबाट दण्ड तथा सजाय तोकिएका कसुरदार र चालु मुद्दाका फरार ती प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
अपराध रोकथाम तथा नियन्त्रण गरी काठमाडौँ उपत्यकामा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले परिसरले राजधानीका विभिन्न क्षेत्रमा उक्त अभियान सञ्चालन गरेको जनाएको छ । अभियानका क्रममा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात, हुलहुज्जत तथा दुव्र्यवहार गर्ने, चोरी तथा लुटपाटमा संलग्न हुने, बिचौलियाका रूपमा काम गर्ने र गुण्डागर्दी जस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ ।
प्रहरीले अपराध नियन्त्रण तथा सार्वजनिक स्थानमा हुने अवाञ्छित गतिविधि न्यूनीकरणका लागि विभिन्न समयमा यस्ता अभियान सञ्चालन गर्दै आएको छ ।




