बाँके । बाँकेमा पाटे बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको पूर्व–पश्चिम राजमार्गमा बाघको आक्रमणबाट एक भारतीय नागरिकको ज्यान गएको हो ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरबाट एक जना भारतीय नागरिकलाई बाघले राजमार्ग क्षेत्रबाट तानेर खाएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।
त्यस क्षेत्रमा बौलाएको बाघले राजमार्ग क्षेत्रबाटै दुई दिनमा दुई वटा गाई समेत मारेको उनले बताए ।
स्थानीय एक होटलमा भाँडा माझ्ने काम गर्ने मृतक भारतीय नागरिकको परिचय भने खुल्न बाँकी रहेको एसपी अधिकारीले बताए ।
बाघले खाएका ती व्यक्तिको खुट्टामात्रै फेला परेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताए ।
शरीरको माथिल्लो भाग खाइसकेको अवस्थामा खुट्टामात्रै बिहान साढे ७ बजेतिर निकुञ्ज क्षेत्रभित्र फेला परेको उनले बताए ।




