समाचार

काठमाडौँमा वर्षा : वर्षको सर्वाधिक, पाँच दशकयता तेस्रो ठूलो

काठमाडौँ । गएराति काठमाडौँ उपत्यकामा यो वर्षको सबैभन्दा धेरै पानी पर्यो जुन पाँचदशक यताको तेस्रो ठुलो वर्षा हो । रातभरि परेको पानीले काठमाडौँका विभिन्न स्थानमा डुबानसमेत भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँमा गएराति २४ घण्टामा १२१.५ मिमी वर्षा भएको छ । उपत्यकाका विभिन्न नदी र खोला किनारामा देखिएको डुबानको अवस्था हेरेर कतिपयले यसलाई हालसम्मकै ठूलो वर्षा भने पनि विगत ५३ वर्षको अवधिमा रेकर्ड गरिएको तथ्याङ्क हेर्दा यो हालसम्मको तेस्रो ठूलो वर्षा हो ।

सन् १९६८ देखि २०२१ सम्मको तथ्याङ्क केलाउँदा २००२ को जुलाई २३ मा सबैभन्दा बढी २४ घण्टामा १ सय ७७ मिमी वर्षा भएको देखिन्छ । त्यसपछिको ठूलो वर्षा सन् १९८७ मा १ सय २४ मिमी वर्षा भएको विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिए ।

उपत्यकाका नदी र खोला क्षेत्र मिचेर साँघुरा पारिएको र वर्षाको पानी जमिनले सोस्ने जमिन कम भएका कारण बढी डुबान देखिएको उनको भनाइ छ । गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३ सय ८५ घर डुबानमा परेका छन्, भने २ सय ४७ जनाको उद्धार गरिएको छ । काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायत क्षेत्र डुबानमा परेको नेपाल प्रहरीले जनाएको छ ।

यस्तै अविरल वर्षाले वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ । रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका थिए । आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।

काठमाडौँ उपत्यकामा मुख्यगरी वाग्मती नदी र यसका सहायक तथा उपसहायक नदी विष्णुमति, मनोहरा, नख्खु, बल्खु, धोविखोला, टुकुचा, हनुमन्ते, महादेव खोला, गोदावरी र कर्मनाशा बग्ने गर्छन् । यी सबै नदी तथा खोलामा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विसं २०६६ देखि अतिक्रमण रोक्न नदीका दुवै किनारामा तटबन्ध निर्माण गरिरहेको छ । साथै नदीको पानी शुद्धताका लागि दुवै किनारमा ढलको पाइप निर्माणसमेत भइरहेको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए ।

थप २ दिन मनसुनी गतिविधि बढ्नसक्ने

उत्तर पश्चिमी बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्फयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मङ्गलबारसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले सामान्य सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *