मुख्य समाचार

कांग्रेस नेता बस्नेतद्वारा ६० बालबालिकाको निःशुल्क अध्ययन संयोजन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य, पूर्व सूचना तथा सञ्चारमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय बाढीपहिरो विपद व्यवस्थापन समन्वय समिति संयोजक मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोबाट अभिभावक गुमाएका र अति विपन्न ६० जना बालबालिकालाई काठमाडौंमा निःशुल्क उच्च शिक्षाका लागि भर्ना गरिदिएका छन् ।

काठमाडौंको लोयला कलेजमा आयोजित विशेष कार्यक्रममा ६० बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको हो । नेता बस्नेतको पहलमा ६० जना बालबालिकाले निःशुल्क रुपमा कक्षा ११ र १२ सम्मकाे अध्ययन गर्न पाउने व्यवस्था गरिदिएका हुन् ।

सुनकोसी गाउँपालिका– ६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको विज्ञ सदस्य रामकुमार थापाको समन्वयमा काठमाडौंको लोयला सेकेण्डरी स्कुल र सान ईन्टरनेशनल कलेजमा ती बालबालिकाहरूको पढाइ हुनेछ ।

५० जना बालबालिकाले लोयला सेकेण्डरी स्कुलमा अध्ययन गर्नेछन् । १० जना बालबालिकाले सान ईन्टरनेशनल कलेजमा पढ्नेछन् । कांग्रेस नेता बस्नेतले बालबालिकाहरूको उच्च शिक्षाका लागि कलेजहरूबाट भएको सहयोग तथा कांग्रेस नेताहरूको पहलको प्रशंसा गरेका छन् ।

कार्यक्रममा वडाध्यक्ष थापा, लोयला कलेजका निर्देशक भुपालगोविन्द श्रेष्ठ, लोयला कलेजका प्रिन्सिपल रमेश पनेरु, सान ईन्टरनेशनल कलेजका प्रिन्सिपल विष्णु पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *