समाचार

प्रधानमन्त्री देउवाले गरे खोप केन्द्रको अनुगमन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको कोरोना भाइरसविरुद्धको खोप ‘जोन्सन एण्ड जोन्सन’ अभियानको निरीक्षण एवं अनुगमन गरेको छ ।

प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन भएका काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी निरीक्षण गरेको हो ।

केन्द्रीय युनिफाइड अस्पतालमा प्रधानमन्त्री देउवालाई उपनिर्देशक डा.अशेष ढुङ्गेलले खोप लगाउनका लागि आयोजना गरिएको व्यवस्थाबारे जानकारी गराएको थियो । प्रधानमन्त्री देउवाले अस्पतालमा खोप लगाइरहेका बेला निरीक्षण गएको हो । उनसँगै नेपालस्थित अमेरिकाका राजदूत ¥याण्डी बेरी पनि हुनुहुन्थ्यो ।

प्रधानमन्त्री देउवालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, युनिफाइड अस्पतालका कार्यकारी निर्देशक डा.जागेश्वर गौतमले लगायतलेसमेत अस्पतालका बारेमा जानकारी गराएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा.गौतमले आज एक हजार जनालाई खोप प्रदान गर्ने बताए । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको हो । सो खोपको एक मात्रा लगाए पुग्छ । यसअघि नेपालमा कोभिशिल्ड र भेरोसेल खोप लगाइएको थियो ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा कल्याण शाखा प्रमुख डा.झलक शर्मा गौतमले आजदेखि काठमाडौं उपत्यका, काभ्रे र गण्डकी प्रदेशका केही जिल्लामा उक्त खोप लगाउन थालिएको जानकारी दिए ।

जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइने छ । उनले खोपलाई चाँडै नै देशभर पु¥याउने बताए ।

नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८ सय ५० मात्रा खोप आइसकेको छ । मुलुकमा अहिलेसम्म २९ लाख ९९ हजार २ सय १४ पहिलो मात्रा र ११ लाख २९ हजार ९ सय ८ दोस्रो मात्रा खोप लगाइसकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *