काठमाडौं । चीनले नेपाललाई थप खोप सहयोग गर्ने भएको छ । चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई थप खोप सहयोग गर्ने बताएकी छन् ।
सोमवार विहान आयोजित भर्चुअल पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यान्छीले नेपालले खरिद गरेको सबै खोप पनि चाँडै आउने बताइन् । कोभिडको सुरुवातमा नेपालले चीनलाई मद्दत गरेको उल्लेख गर्दै राजदूत यान्छीले खोप उत्पादन दिनानुदिन बढिरहेका कारण नेपाललाई चीनले भविष्यमा थप सहयोग गर्न सक्ने उल्लेख गरिन् ।
‘हामीसँग १० प्रकारका खोप उत्पादन भएका छन् र दुईवटालाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छ, उत्पादन पनि क्रमशः बढिरहेको छ,’ उनले भनिन्, ‘नेपालले खरिद गरेको ४० लाख डोज साइनोफार्ममध्ये सबै चाँडै आउनेछ । हामी भविष्यमा नेपाललाई बढीभन्दा बढी खोप पठाउनेछौँ किनभने हामीकहाँ उत्पादन क्षमता बढिरहेको छ ।’
नेपाललाई चीनले १८ लाख साइनोफार्म कम्पनीको भेरोसेल खोप उपलब्ध गराइसकेको छ भने नेपालले खरिद गरेको ४० लाख डोज खोपमध्ये पहिलो चरणमा आठ लाख खोप आइसकेको छ ।




