काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले वर्तमान सरकार रहेसम्म संसद् असुरक्षित रहेको बताएका छन् । जुनसुकै बेला पनि प्रधानमन्त्री केपी ओलीले संसद्सँग बदला लिने थापाको आशंका छ ।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता थापाले ओलीकै कारण फेरि पनि संसद् विघटन हुने दाबी गरे । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटन बदर गरिदिएकाले उनीबाट संसदको तिरस्कार, अपमान र उपेक्षा गर्ने काम अझै बढ्दै जाने उनले बताए ।
‘हामी स्पष्ट छौँ, जति दिन यो सरकार रहन्छ संसद्को तिरस्कार र अपमान उपेक्षा गर्ने काम बढ्दै जान्छ । किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बद्ला लिनुछ । हामी हाम्रो ठाउँबाट डटेर संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौँ । बाँकी जिम्मा जनताको हो । यथोचित समयमा जनताले यसको हिसाब किताव गर्नेछन् । ओलीले गरेका काम जनताको अपमान हो, जसले यो संसद बनाएको छ । जसले हामीलाई सांसद बनाएको छ । आफ्नो अपमानको बद्ला जनताले यथोचित समयमा लिनेछन् । यो संसदभित्र बसेर यसको गरिमा जोगाउन हामी आफ्नो ठाउँबाट डटेर लड्नेछौँ ।’




