काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट बुधबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । बुढानिलकण्ठस्थित देउवा निवासमा दिउँसो सवा १ बजेदेखि तीन शीर्ष नेताबीच भेटवार्ता सुरु भएको थियो ।
देउवासँग प्रचण्ड र माधव नेपालले सत्ता सहकार्यका लागि प्रस्ताव गरेका छन् । अध्यक्षद्वय प्रचण्ड र नेपालले सभापति देउवासँग सँगै मिलेर जाने प्रस्ताव गरेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । ‘समसामयिक राजनीतिका बारेमा छलफल भयो । उहाँहरुले पछिल्लो राजनीतिक घटना क्रममा मिलेर जान प्रस्ताव गर्नुभयो, अब सहकार्य गरेर अगाडि जाऔं भन्ने उहाँहरुको आशय थियो,’ उनले भने ।
प्रचण्ड र माधवको प्रस्तावमा देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने र पछि फेरि बसेर कुरा गरौंला भनेका थिए । प्रचण्ड–माधव समूहको प्रस्तावबारे छलफल गर्न देउवाले बिहीबार पदाधिकारी बैठक डाक्ने भएका छन् ।




