समाचार

कांग्रेसलाई एकढिक्का भएर निर्णय गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताको अपिल

काठमाडौं । नेपाली कांग्रेसका नेतापिच्छे फरक फरक धारणा आउन थालेपछि शुभचिन्तकहरूले एकढिक्का भएर प्रस्तुत हुन अपिल गरेका छन् । सामाजिक सञ्जालमा क्रियाशील कांग्रेस शुभचिन्तकहरूले केन्द्रीय समितिलाई एकढिक्का भएर निर्णय गर्न र विरोधाभास अभिव्यक्ति नियन्त्रण गर्न सुझाव दिइएको हो ।

अपिलमा भनिएको छ, ‘पार्टीले आयोजना गरेका विरोध सभाहरुमा पार्टी केन्द्रीय समितिको निर्णय र पार्टीको धारणाभन्दा बाहिर गएर एकले अर्कोलाई प्रहार गर्ने गरी राखिएका धारणा पार्टी हितमा छैनन्। आउँदा दिनहरूमा कांग्रेस नेताहरूले एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने काम बन्द गर्नुपर्छ ।’

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । त्यसअघि नै शुभेच्छुकहरूले अपिल जारी गरेका हुन् ।

कांग्रेसलाई एक ढिक्का बनाएर लैजानेतर्फ केन्द्रीय समितिले विशेष पहल गर्नु पर्ने भन्दै अपिलमा भनिएको छ, ‘पार्टीले आयोजना गरेका विरोधसभाहरुमा पार्टी केन्द्रीय समितिको निर्णय र पार्टीको धारणाभन्दा बाहिर गएर एकले अर्कोलाई प्रहार गर्ने गरी राखिएका धारणा पार्टी हितमा छैनन्। आउँदा दिनहरुमा कांग्रेस नेताहरूले एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने काम बन्द गर्नुपर्छ ।’

अपिल जारी गर्नेमा बिश्वदिप लामिछाने, शिव चालिसे, एलिजा ढकाल, ज्योती बोगटी थापा, तुल्सीराम भुसाल, सरोजश्री अधिकारी, हेमन्त बन, बुद्धराज रिसाल, तारा गौतम, राजन कटुवाल केसी, देवेन्द्र बर्मा, राविश शर्मा, सुबास अर्याल, छिरिङ धुन्डुप शेर्पा, राजेश लुइँटेल, शिव श्रेष्ठ, गोबिन्द बानियाँ, बिश्वास द्विबेदी, आत्मराम अतकुल्य, सुरेश अधिकारी, अंशु शर्मा, सरोज बस्नेत, बिपि कोइराला, लक्ष्मण सापकोटा र प्रकाश भण्डारी छन् ।

उनीहरूले भनेका छन्, ‘लोकतन्त्रको लागि कांग्रेस र कांग्रेसको लागि लोकतन्त्र’ भन्ने मूल मन्त्रलाई आत्मासाथ गर्दै नेताहरूले एकल सिद्धान्तभन्दा पनि सामूहिक सिद्धान्त बनाएर पार्टीले वर्तमान राजनीतिक संक्रमणकालको अन्त्य गर्नु पर्दछ। तसर्थ आजको केन्द्रीय कार्यसमिति बैठकले मुलुकको नेतृत्वदायी भूमिका निभाउने गरी पार्टीभित्र एकताको सन्देश दिंदै मुलुकलाई सही दिशामा ल्याउने अठोट गर्न हामी विषेश आग्रह गर्न चाहन्छौ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *