काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन सबै नेपालीले निःशुल्क पाउने भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीलाई निःशुल्क भ्याक्सिन लगाउने सरकारको तयारी रहेको बताएका छन् ।
शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक पत्रकार संघका प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री पौडेलले कोरोनाको उपचार जस्तै भ्याक्सिन पनि नेपाली जनतालाई निःशुल्क लगाउने सरकारको तयारी रहेको बताएका हुन् ।
विश्व बजारमा भ्याक्सिन आउनासाथ नेपाल सरकारले किन्ने गरी सरकारले उत्पादक देश र कम्पनीहरुसँग संवाद गरिरहेको उनको भनाइ थियो । सरकारले सबै नागरिकलाई भ्याक्सिन लगाउने तयारी गरे पनि १४ वर्षमुनिका उमेर समूहलाई भने नलगाइने बताए ।
मन्त्री पौडेलले मापदण्डअनुसार कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र बृद्धबृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराउने बताए ।




