काठमाडौं । फिल्मप्रति दर्शकको चासो बढाउन निर्माण टिमले विभिन्न उपहारका योजनाहरु अगाडि सार्ने गरेका छन् । यस्तैमा आउदो चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ले दर्शकलाई बैंकक घुमाउने उपहार योजना अगाडि सारेको छ । निर्माण युनिटले फिल्मको ‘चार आनाको मसला’ बोलको गीतमा टिकटक बनाउनुपर्ने योजना ल्याएको हो ।
फिल्मका निर्माता अर्जुन कुमारले प्रथम हुनेलाई बैंकक घुमाइने बताए । सबैभन्दा धेरै लाइक र भ्यूज पाएको टिकटक भिडियोमध्ये एउटालाई विजेता घोषणा गरिने बताइएको छ ।
निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
फिल्ममा दर्शकले सस्पेन्स र थ्रिल पाउने निर्माता अर्जुन कुमारले जानकारी दिए ।




