काठमाडौं । फागुणको ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘आमा’को ट्रेलरले दर्शकको मन छोइसकेको छ । यसै समयमा निर्माण युनिटले फिल्मको गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’ सार्वजनिक गरेको छ ।
आमाले सन्तानका लागि गर्ने संघर्षलाई निकै नै गहिरो रुपमा गीतमा प्रस्तुत गरिएको छ । केतन क्षेत्रीको स्वर रहेको यो गीतमा भूपेन्द्र खड्काको शब्द, सुवाष भुषालको संगीत छ ।
दिपेन्द्र के खनालको छायांकन, लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा मिथिला शर्मा शिर्ष भुमिकामा छिन् । श्रीमान् विरामी भएपछि छटपटिएकी एक श्रीमती र उनको सन्तानप्रतिको मायालाई मिथिला शर्माको भावबाट प्रकट गरिएको छ ।
उनको साथमा नायिका सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदम प्रसाद पौडेल, आशान्त शर्मा, सरोज अर्याल, अश्मिता खनाल, सुदिप खतिवडा, झकेन्द्र जीसी र विकास खनालको फिल्ममा अभिनय देख्न सकिन्छ ।
शर्मिला पाण्डेको लगानीमा बनेको यो चलचित्रमा सन्तोष अधिकारी सह–निर्माताको रुपमा छन् ।
https://youtu.be/bivNGWP8qRA




