काठमाडौं । देशमा कोभिड–१९ को संक्रमण रोक्न सरकार असफल भएको निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ । नेपाली कांगे्रस, कोभिड–१९ अनुगमन समितिका संयोजक तथा पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशमा कोभिड–१९ बाट संक्रमितको संख्या दिनानुदिन बढ्दो छ ।
पछिल्लो आकंडा अनुसार संक्रमण दर २८.५ प्रतिशत पुगेको छ भने देशभरि संक्रमित भएका मध्ये ५२ प्रतिशत काठमाडौं उपत्यकामा भेटिएको छ । नेपालको संक्रमण दर अन्य देशहरुको तुलनामा अत्यन्त उच्च देखिएको छ । यो आकंडाले नेपालमा स्थिति भयावह हुँदै गएको संकेत गर्दछ । तर सरकार देशमा कोभिड—१९ संक्रमण रोक्न सफल भएको दावी गर्दैछ । सरकारको यो भन्दा विरोधाभाष र गैरजिम्मेवारीपूर्ण रवैयाको अर्को नमूना हुन सक्दैन ।’
संयोजक तथा सहमहामन्त्री डा. महतले वक्तव्यमार्फत् भनेका छन्, ‘संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत तथा नेपाली कांग्रेस पार्टी र नागरिक समाजबाट भएको निरन्तर विरोधका वावजुद सरकार कोभिड—१९ संक्रमितको निःशुल्क उपचार गराउनु पर्ने जिम्मेवारीबाट पन्छिदैछ । त्यसमाथि सरकारी अस्पतालहरुले समेत उपचार पहिले नै निश्चित धरौटी रकम दाखिला गर्नु पर्ने सूचना जारी गर्दैछन् । यसले गर्दा खर्च जुटाउन नसकेर कतिपय विरामीहरु अस्पतालमा उपचार गराउँदा गराउँदै फिर्ता हुदैछन् भने कतिपय संक्रमणले गम्भीर हुँदा समेत घरमै बस्नु पर्ने बाध्यता भएको छ ।
सत्ताधारी दलका नेता र उनका नाममा दर्ता भएका गैर सरकारी संघ–संस्थाहरुलाई अरबौं रकम दिन सक्ने, विभिन्न शीर्षकमा फजुल खर्च गर्न समस्या नहुने, कोभिड—१९ संक्रमण रोक्ने नाममा ठूलो मात्रामा दुरुपयोग र भ्रष्टाचार गर्न सरकारसँग पर्याप्त बजेट हुने तर आम नागरिकहरुले परिक्षण र उपचार खर्च नभएर मृत्युवरण गर्नु पर्ने र वेरोजगारीका कारण चाडवाडको बेलामा पनि भोकभोकै बस्नु पर्ने स्थितिमा बजेटको अभाव देखाउँदै सरकार केही गर्न नसक्ने भनेर जिम्मेवारीबाट पन्छिदैछ । सरकार जिम्मेवारी वहन गर्नुबाट कर्तव्यच्यूत भएको यो चरम नमूना हो । सरकारको यस्तो जनविरोधी क्रियाकलापको घोर निन्दा गर्दै कोरोना परिक्षण र उपचारमा सरकारले तत्काल पूर्ण जिम्मेवारी लिन नेपाली कांग्रेस माग गर्दछ । कोभिड—१९ संक्रमणले सिर्जना गरेको परिस्थितिका कारण दैनिकी चलाउन कठिनाई भोगिरहेका आम नागरिकहरुका लागि राहतको व्यवस्था गर्न पनि सरकारसँग नेपाली कांग्रेस माग गर्दछ ।
कोभिड—१९ रोकथाममा सरकारले देखाएको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न आम नागरिकहरुको तहबाट पनि जिम्मेवारी लिन जरुरी भएको छ । मास्क लगाउने, भौतिक दुरी कायम राख्ने र सावुन पानीले नियमित हाँत धुने उपायहरुलाई गम्भीरताका साथ लिन पनि हामी सबैसँग आग्रह गर्दछौं । अन्तमा, कोभिड—१९ संक्रमणको विशिष्ट परिस्थितिमा बडा दशैको चाडलाई आ–आफ्ना घरमा मात्र मनाएर संक्रमणको जोखिमलाई कम गर्न समेत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नेपाली कांग्रेस आग्रह गर्दछ ।’




