काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपा उपाध्यक्ष बामदेव गौतमबीच भेटघाट भएको छ । बुधबार दिउसो प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको वालुवाटार निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले गौतमलाई बालुवाटार बोलाएका थिए । उनीहरुबीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल भएको थियो ।
भेटवार्ताको क्रममा ओलीले सरकारलाई सहयोग गर्न आग्रह गरेको स्रोतको दावी छ । ‘उहाँले सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो’, गौतम निकट स्रोतले भन्यो । राष्ट्रियसभामा मनोनित भएपछि उपाध्यक्ष गौतमले सरकारमा सहभागी हुने इच्छा देखाएका छन् । सर्वोच्च अदालतले तत्काल सरकारमा सहभागी हुन गौतमलाई रोक लगाएको छ। गौतमको मुद्दा संवैधानिक इजलासमा सुनुवाईको क्रममा छ ।
गौतमको मुद्दाको सुनुवाई बुधबार हुने भए पनि सर्वोच्च अदालतका न्यायाधीशलाई कोरोना पुष्टि भएपछि सर्वोच्चको एकल एजसालमात्रै संचालनमा छ । उक्त मुद्दामा असोज २८ गते सुनवाइ तोकिएको छ । जसका कारण गौतमको मुद्दा किनारा लाग्न ढिलाई हुने देखिएको छ ।




