काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु गर्ने भएका छन् । एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिएपछि प्रधानमन्त्रीले आजदेखि मन्त्रिपरिषद् पुनर्गठनका विषयमा आठ दलीय गठबन्धनका शीर्ष नेताहरूसँग छलफल थाल्ने भएका हुन् ।
गठबन्धनका कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा शीर्ष नेताहरूको बैठकबाट टुंगो लगाउने एक नेताले जानकारी दिए । ‘एमाले पनि सरकारबाट बाहिरियो । राप्रपा र रास्वपा केही दिनअघि बाहिरिए,’ ती नेताले भने, ‘अब सबै परिस्थितिको विषयमा विश्लेषण हुनेछ । मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुनेछ ।’
प्रधानमन्त्री प्रचण्डसहित नयाँ गठबन्धनका नेताहरूले राष्ट्रपति निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका थिए । तर सोमबार एमाले सरकारबाट बाहिएपछि अहिलेनै पुनर्गठनबारे छलफल थाल्नु परेको हो । प्रचण्डसँग अहिले १६ मन्त्रालयको जिम्मेवारी पनि छ ।




