इंग्लान्ड । नटिङघम फरेस्टले इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट पुनरागमन गर्दै चेल्सीसँग अंक हासिल गरेको छ ।
गएराति भएको खेलमा चेल्सीलाइ नटिङघमले एक – एक गोलको बराबरीमा रोकेको हो । घरेलु टोलीविरुद्ध सुरुवाती अग्रता लिएपनि चेल्सीले जोगाउन सकेन ।
चेल्सीका लागि छैटौँ मिनेटमा रहिम स्टर्लिङले गोल गरेका थिए । स्टर्लिङको गत अगस्ट यता लिगमा यो पहिलो गोल हो । यस्तै उनको यो प्रिमियर लिगमा ५० औँ अवे गोल पनि हो ।
दोस्रो हाफमा नटिङघमले सुधारिएको खेल प्रदर्शन गर्यो । ६३ औँ मिनेटमा नटिङघमका सर्ज अरेले गोल गरेपछि चेल्सी अंक बाड्न बाध्य भएको हो ।
क्रिस्टियन पुलिचिस, वैकल्पिक खेलाडी पियरे इम्रिके अबोमयाङले गोल गर्ने अवसरको सदुपयोग गर्न सकेनन् । आठौँ स्थानमा रहेको चेल्सीको १६ खेलबाट २५ अंक छ । रेलिगेसन जोनमा कायमै रहेको नटिङघम १८ औँ स्थानमा छ । उसको १७ खेलबाट १४ अंक छ ।
प्रिमियर लिगको अर्को खेलमा टोटेनहमले आफ्नै मैदानमा हार बेहोरेको छ । एस्टन भिल्लाले टोटेनहममाथि २ – ० गोलको जित हात पारेको छ ।
उनाइ इम्रेको टोली भिल्ला र एन्टोनियो कोन्टेको टोटनहमबीच भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
५० औँ मिनेटमा भिल्लाका इमिलियानो बोन्डियाले डेड लक तोडे । उनले गोलकिपर ह्युगो लोरिसको गल्तीको फाइदा उठाउँदै गोल गरेका हुन् ।
फ्रान्सका लोरिसको कतार विश्वकप पछिको यो पहिलो खेल हो । ७३ औँ मिनेटमा डग्लास लुइसले अग्रता दोब्बर पारे ।
विश्वकप फाइनलमा लोरिस र भिल्ला गोलकिपर अर्जेन्टाइन इमिलियानो मार्टिनजेले एक अर्काको सामना गरेका थिए । तर गएराति भने मार्टिनजेलाई बेन्चमा राखिएको थियो ।
अवे खेलमा तीन अंक जोडेपछि प्रशिक्षक इम्रेले आफ्ना खेलाडीको प्रशंसा गरे । यो हारले टोटेनहम भने शीर्ष चारमा पुग्ने मौकाबाट चुक्यो । प्रशिक्षक कोन्टोले गत सिजन च्याम्पिन्स लिग खेल्नु चमात्कार भएको प्रतिक्रिया दिएका थिए ।
पाँचौ स्थानको टोटेनहमको १७ खेलबाट ३० अंक छ । एक खेल कम खेल्दै चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३२ अंक छ । १२ औँ स्थानको एस्टन भिल्लाको १७ खेलबाट २१ अंक छ ।




