काठमाडौँ । नेकपा माओवादी केन्द्रले गठबन्धन दलहरुको संसदीय दलको नेता छनोट भएपछि मात्रै पावर सेयरिङ विषयमा छलफल अघि बढाउने निर्णय गरेको छ । कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको पदाधिकारीहरुको बैठकले सरकारको नेतृत्वसहित पावर सेयरिङको विषयमा छलफल गर्ने निर्णय गरेको हो ।
‘अहिले गठबन्धन दलबीचमा भएको छलफलको प्रक्रिया भर्खर प्रारम्भ भएको हुँदा आ-आफ्नो दलका नेताहरु चयन भइसकेपछि गठबन्धन दलको बैठक बसेर कसरी सरकारमा सहभागिता हुने, संसदको नेतृत्व कसरी चयन गर्ने र समग्र देशको नेतृत्व कसरी तय गर्ने भन्ने विषयमा गठबन्धन दलमा छलफल हुन्छ,’ बैठकपछि माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सञ्चारकर्मीहरुलाई भने ।
शर्माकाअनुसार आइतबारको बैठकमा शपथग्रहण भए पनि संसदीय दलको नेता छान्ने र त्यसपछि नेतृत्वको बारेमा छलफल गर्ने निर्णय गरेको बताए । ‘गठबन्धन दलहरुबीच भर्खर छलफल प्रारम्भ भएको हुँदा आ-आफ्नो दलको नेताहरु चयन भइसकेपछि अन्य विषयमा छलफल हुन्छ,’ शर्माले भने ।
शनिबारमात्रै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा कांग्रेसका नेता शेरबहादुर देउवासँग भेट गरी शक्ति बाँडफाँटको विषयमा धारणा माग गरेका थिए ।




