वालिङ । आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जाका दुई नेताबीच तेस्रोपटक प्रतिस्पर्धा हुने भएको छ । दुईपटक एकअर्काको प्रतिस्पर्धी बनेका नेपाली कांग्रेसका जिल्ला सभापति एवं संविधानसभा सदस्य राजु थापा र नेकपा (एमाले)का नेता एवं निवर्तमान प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासिनीबीच तेस्रोपटक प्रतिस्पर्धा हुने भएको हो ।
विसं २०७० मा भएको संविधानसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं १ बाट थापाले मरासिनीलाई पराजित गर्दै विजयी बनेका थिए । दोस्रोपटक २०७४ को प्रतिनिधिसभा निर्वाचनमा दुई नेताबीच प्रतिस्पर्धा भयो । जसमा तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धनका मरासिनी विजयी भए ।
दुईपटकको प्रतिस्पर्धामा एक–एकपटक विजयी बनेका थापा र मरासिनी आगामी मङ्सिर ४ गते तेस्रोपटक आमने–सामने हुँदैछन् । यसपटक स्याङ्जा क्षेत्र नं १ मा गठबन्धनबाट थापा प्रतिनिधिसभाका उम्मेदवार बनेका हुन् । यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं १ मा एमालेका मरासिनीले ३९ हजार चार सय ३३ मत ल्याएर विजयी भएका थिए । चार वर्षअघिको बदला लिँदै मरासिनी विजयी भएका हुन् । कांग्रेसका थापाले २८ हजार ३३१ मत ल्याएका थिए ।
२०७० को संविधानसभाको निर्वाचनमा कांग्रेसका थापाले १६ हजार ६९९ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी मरासिनीले १५ हजार चार सय ११ मत ल्याएका थिए ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा पुतलीबजार नगरपालिका, बिरुवा गाउँपालिकाका, हरिनास गाउँपालिका, आँधीखोला गाउँपालिका, फेदीखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिकाका सबै वडा, भिरकोट नगरपालिकाका चारवटा वडा र वालिङ नगरपालिकाका दुईवटा वडा पर्छन् ।
स्याङ्जाका एघार स्थानीय तहमा कुल ९७ वडा रहेकामध्ये ५२ वडा यो निर्वाचन क्षेत्रमा पर्छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र भिरकोट नगरपालिकामा कांग्रेसले प्रमुख र उपप्रमुखमा विजयी हासिल गरेको थियो । बिरुवा, हरिनास, फेदीखोला, आँधीखोला गाउँपालिकामा एमाले विजयी बनेको थियो ।
विसं २०७९ को स्थानीय तहको निर्वाचनमा पुतलीबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको थियो । कांग्रेसका तुल्सीराम रेग्मीले १२ हजार मत ल्याई विजयी हुँदा एमालेका सीमाकुमारी क्षेत्रीले १० हजार नौ सय मत ल्याएका थिए । त्यस्तै उपप्रमुखमा देवी अर्यालले ११ हजार सात सय ४८ मतसहित विजयी हुनभएको थियो भने एमालेका महेश पुरीले १० हजार सात सय ६१ मत प्राप्त गरेका थिए । १४ वटा वडा रहेको पुतलीबजार नगरपालिकामा नौवटा वडामा कांग्रेस र पाँचवटा वडामा एमाले विजयी भएको थियो ।
भिरकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्य र उपप्रमुखमा कांग्रेसकै भगवती अर्याल रेग्मी विजयी भएका थिए । विजयी कर्माचार्यले छ हजार पाँच सय चार मत प्राप्त गरेका थिए भने एमालेका विश्वनाथ अर्यालले पाँच हजार छ सय ६९ मत ल्याए ।
उपप्रमुखमा रेग्मीले सात हजार एक सय ७९ मत र एमालेका सरस्वती अधिकारीले चार हजार आठ सय ९८ मत प्राप्त गरे । नौवटा वडा रहेको भिरकोट नगरपालिकाका आठवटा वडामा कांग्रेस विजयी भएको थियो । वडा नं ६ को अध्यक्षमा मात्रै एमालेका वडाध्यक्ष विजयी भएका थिए भने अरु सबै वडाका अध्यक्ष र ६ का अन्य सदस्य पनि कांग्रेसबाट विजयी बनेका थिए । भिरकोट नगरपालिकाका १, २, ३ र ४ नं वडा क्षेत्र नं १ मा पर्छन् । यी चारवटै वडामा कांग्रेस विजयी भएको थियो ।
अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो । अध्यक्षमा प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ विजयी भएका थिए । तिवारीले पाँच हजार दुई सय ९१ मत ल्याउँदा एमालेका चीनमाया गुरुङले चार हजार आठ सय २७ मत ल्याए । उपाध्यक्षमा सपना गुरुङले चार हजार आठ सय २७ मत र एमालेका टङ्कप्रसाद खनालले तीन हजार सात सय ६७ मत प्राप्त गरेका थिए । छवटा वडा रहेको अर्जुनचौपारी गाउँपालिकामा पाँचवटा वडामा कांग्रेस र एउटा वडामा एमाले विजयी भएको थियो ।
बिरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको थियो । एमालेका सूर्यबहादुर कुँवरले चार हजार आठ सय ७२ मत ल्याएर विजयी हुँदा कांग्रेसका डोलराज पोख्रेलले चार हजार सात सय ४६ मत ल्याए । उपाध्यक्षमा एमालेकी भगवती शर्माले चार हजार नौ सय ३७ मत ल्याउँदा माओवादी केन्द्रका थमबहादुर गुरुङले तीन हजार छ सय ७६ मत प्राप्त गरे । बिरुवामा चारवटा वडामा कांग्रेस, तीनवटामा एमाले र एउटा वडा माओवादी केन्द्रले जितेको थियो ।
हरिनास गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको थियो । एमालेका खिमनारायण मानन्धरले कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले पराजित गरेका थिए । मानन्धर चार हजार सात सय ६९ मतसहित विजयी भएका थिए ।
त्यस्तै उपाध्यक्षमा एमालेका इन्द्रकुमारी थापाले गठबन्धनका मिठु लम्साललाई २४ मतान्तरले पराजित गरी विजयी भएका थिए । थापाले चार हजार सात सय ४० मत प्राप्त गरेका थिए । हरिनासमा कांग्रेसले तीनवटा वडा र एमालेले चारवटा वडामा जित हासिल गरेको थियो ।
आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको थियो । अध्यक्षमा एमालेका विश्वनाथ पौडेलले पाँच हजार एक सय ७७ मत ल्याउँदा कांग्रेसका प्रेमराज पौडेलले चार हजार तीन सय ५१ मत ल्याए । उपाध्यक्षमा एमालेका सीता थापाले पाँच हजार दुई सय ७३ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का रामचन्द्र पौडेलले तीन हजार आठ सय १७ मत ल्याएका थिए । एमालेले पाँचवटा वडा र कांग्रेसले एउटा वडामा जितेको थियो ।
फेदीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको थियो । अध्यक्षमा घनश्याम सुवेदी दोहोरिएका हुन् । उनी कांग्रेसका लक्ष्मीप्रसाद बराललाई एक सय ३२ मतले पछाडि पार्दै विजयी भएका हुन् । विजयी सुवेदीले तीन हजार आठ सय ३६ मत ल्याएका थिए । उपाध्यक्षमा देउकुमारी गुरुङले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई एक हजार पाँच सय ९९ मतले पछाडि पारेका थिए । विजयी गुरुङले तीन हजार ७८ मत ल्याएका थिए । पाँचवटा वडामध्ये चारवटा वडामा कांग्रेस र एउटा वडामा एमाले विजयी भएको थियो ।
वालिङ नगरपालिकाका १४ वटा वडामध्ये यस क्षेत्रमा वडा नं ३ र ४ पर्छन् । दुवै वडामा एमाले विजयी भएको थियो । क्षेत्र नं १ मा कुल ५२ वडामध्ये कांग्रेस ३०, एमाले २१ र माओवादी केन्द्र एउटा वडामा विजयी भएको थियो ।
नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले विशेषगरी सडकको स्तरोन्नति, आँधीखोलामा तटबन्ध, पर्यटनलगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेका छन् । नेपाली कांग्रेसले तयार पारेको घोषणापत्रसँगसँगै यहाँका नागरिकसँग प्रत्यक्ष जोडिएका विकास निर्माणसहित सुख–दुःखमा आफू निरन्तर लाग्ने प्रतिबद्धता उनले जनाएका छन् । अहिले भएका सडकलाई स्तरोन्नति गर्ने, आँधीखोलाको दायाँबायाँका क्षेत्रमा तटबन्ध गरी खेतीयोग्य जमिन र त्रस्तीको सुरक्षा गर्ने, पर्यटकीय सम्भावना बोकेका स्थलको प्रचार–प्रसार, पूर्वाधार निर्माण तथा आम्दानीको स्रोतका रूपमा विकास गर्ने लक्ष्यसहित स्याङ्जा कांग्रेस अगाडि बढेको कांग्रेस स्याङ्जाका प्रवक्ता भरतप्रसाद लम्सालले बताए ।
एमालेको तर्फबाट स्याङ्जा क्षेत्र नं १ का उम्मेदवार नारायणप्रसाद मरासिनीले आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभाबाट नेपाली जनताको भाग्य बदल्ने महायज्ञ भएकाले विचार पुर्याएर मात्रै मत खसाल्न आग्रह गरेका छन् । जनतालाई सुखी र समृद्धिका लागि पनि अब एमालेको सरकार आवश्यक रहेकाले फेरि पनि आफूले उम्मेदवारी दिएको उनले बताए ।
स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका थापा, नेकपा एमालेका मरासिनीसहित नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका ईश्वरीप्रसाद पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीका ओमबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ख्यामबहादुर गुरुङ, जनसमाजवादी पार्टी नेपालका तीलकुमारी नेपाली, मङ्गोल नेशनल अर्गनाइजेशनका निर्मल आले, नेपाली कांग्रेस (विपी) का बोधराज रेग्मी, हाम्रो नेपाली पार्टीका सोमबहादुर नेपाली, मौलिक जरोकिलो पार्टीका हरि नेपाल र स्वतन्त्र लोकबहादुर दमै चुनावी मैदानमा छन् ।
स्याङ्जामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेका छन् । स्याङ्जा क्षेत्र नं १ मा पुरुष ६२ हजार छ सय ७९, महिला ६४ हजार सात सय ३१ र एक जना अन्य गरी कुल एक लाख २७ हजार चार सय ११ मतदाता छन् । सो क्षेत्रमा एक सय आठ मतदानस्थल छन् भने एक सय ७० मतदान केन्द्र रहेका छन् ।




