काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकका बारेमा सही सूचना प्रकाशन गर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन्।
शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सञ्चारमाध्यमले दिएका सूचनाका आधारमा नै जनताले
आफ्नो मूल्यांकन गर्नै भएकोले सही सूचना सम्प्रेषण गर्न आग्रह गरेका हुन्।
उनले संसदमा विवाह गरिसकेपछि नेपाली पुरुषले विवाह गरेको एउटा महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने विषय छलफलको विषय हुने भन्दै यसलाई छलफलमा भएका कुरालाई सहि ढंगले प्रस्तुत गर्नुपर्ने आवश्यक्ता रहेको बताए।
‘नागरिकहरूले थाहा पाउने गरेर तथ्य र प्रमाणका आधारमा सूचना सम्प्रेषण गर्नुपर्छ। सञ्चारमाध्यमले दिएको तथ्यको आधारमा नै नागरिकहरूले मत बनाउने हो। हामी संसदमा नागरिकता विधेयकमाथि छलफल गर्दैछौँ। आजकै नागरिकता विधेयकपछि सञ्चारमाध्यममा आउने विषयको आधारमा भोलि नागरिकहरूले मत बनाउने हो’, उनले भने, ‘हामीले छलफल गर्ने आजका थुप्रै विषय मध्येको एउटा विषय विवाह गरिसकेपछि नेपाली पुरुषले विवाह गरेको एउटा महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने विषय छलफलको विषय बन्छ। छलफलमा भएका विषयलाई सही ढंगले सम्प्रेषित गर्न सकेनौँ भने धेरै मानिसले बनाउने मत हुँदै नभएको व्यवस्था लागू गरेको छ भन्ने हुन्छ।’
महामन्त्री थापाले सही ढंगले सूचना सम्प्रेषण नगर्दा नागरिकमा भ्रम सिर्जना हुने भन्दै यसलाई रोक्न आवश्यक रहेको बताए।




