राजनीति

हामी एक–अर्काको आलोचना गर्न अब्बल भयौँ : प्रकाशशरण

काठमाडौं । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार प्रकाशशरण महतले पार्टीमा नीतिभन्दा पनि व्यक्तिलाई बढी महत्त्व दिने परिपाटी हाबी भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाका लागि योग्य सारथीका रूपमा चित्रित महतले निर्वाचनस्थल प्रदर्शनीमार्ग परिसरमा कोसी अनलाइन प्रतिनिधिसँग कुरा गर्दै पार्टीमा नीतिको बहस खस्किएकोप्रति चिन्तासहित उक्त भनाइ राखेका हुन् ।

‘अहिले हाम्रा साथीहरूमा आफूलाई प्रमोसन गर्ने तर पार्टीलाई प्रमोसन नगर्ने प्रवृत्ति हाबी भयो,’ महतले भने, ‘यसले गर्दा काङ्ग्रेसले अख्तियार गरेको, संसारभरि लोकप्रिय रहेको प्रजातान्त्रिक समाजवादको विचार ओझेलमा परिरहेको छ ।’

काङ्ग्रेसले बिपीको (प्रजातान्त्रिक समाजवाद) विचार बेच्न (सेल गर्न) नसकेकाले कम्युनिस्टहरूको प्रलोभनमा जनता परेको तर्क गर्दै महतले भने, ‘कम्युनिस्टहरू आयातित विचारको विज्ञापन गर्न अब्बल भए, हामीचाहिँ एक–अर्काको आलोचना गर्न अब्बल भयौँ ।’

स्थानीय निर्वाचन नजिकै रहेकाले अब नेपाली काङ्ग्रेसका सबै नेता तथा कार्यकर्ता एक–अर्कातर्फ भन्दा पनि पार्टीतर्फ केन्द्रित हुनुपर्ने काङ्ग्रेसका पूर्वसहमहामन्त्री महतको भनाइ छ ।

नारामा म होइन हामी भन्ने तर व्यवहारमा हामीभन्दा ‘म’लाई बढी प्रथामिकता दिने गरिएकाले रामचन्द्र पौडेलजस्ता नेता पार्टीको प्राथमिकतामा नपरेको भन्ने जिज्ञासामा महतले भने– ‘वरिष्ठ नेता रामचन्द्र दाइको पीडालाई म बुझ्न सक्छु । उहाँको दुखेसो जायज छ । पार्टीभित्र व्यक्ति केन्द्रित प्रवृत्ति हाबी भएको छ । आफूलाई भए ठिक, नभए सम्बन्ध नै तोड्ने जुन प्रवृत्ति देखियो त्यो उहाँले भने झैँ चिन्ताजनक प्रवृत्ति हो । पार्टीमा दिने होइन लिने प्रवृत्ति बढेको छ । यो गलत प्रवृत्तिलाई हामीले समाप्त पार्नुपरेको छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *