काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचनको प्रारम्भिक मत परिणाममा अध्यक्षका उमेदवार राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् ।
अब ९०० मत मात्रै गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार पछिल्लो मतपरिणाममा अध्यक्षका प्रत्यासी लिङ्देनले १३७१ र कमल थापाले ११५४ मत ल्याएका छन् । ३३९ मत बदर भएको छ । लिङ्देनले मतगणना सुरु भएदेखि नै अग्रता बनाउँदै अघि बढेका हुन् ।
नयाँ नेतृत्व चयनका लागि राप्रपामा शनिबार मतदान भएको थियो ।
राप्रपा अध्यक्षका लागि कागजी मतपत्रमार्फत मतदान सम्पन्न भएको थियो । उपाध्यक्ष, महामन्त्री र सहमहामन्त्री तथा सदस्य पदका लागि विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भएको थियो । भोटिङ मेसिनतर्फको मतगणना भने सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ ।




