हेटौंडा । वाग्मती प्रदेशको मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालयले विपद् प्रतिकार्य योजना तयार गरेको छ । जिल्लामा हुनसक्ने सम्भावित विपद्सम्बन्धी घटनाको पूर्वअनुमान गरी सोको बचावट र रोकथामको कार्य गर्ने गरी विपद् प्रतिकार्य योजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।
यसैबीच जिल्ला प्रशासन कार्यालयले तयार गरेको सो योजनालाई जिल्ला विपद् व्यवस्थापन समितिले कार्यान्वयन गर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सबै सरोकारवालाहरुको सहकार्यमा प्रतिकार्य योजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न योजना अघि बढाएको हो ।
यसैगरी मकवानपुरमा विपद् प्रतिकार्यमा गैरसरकारी संस्थाका तर्फबाट भूमिका निर्वाह गर्ने जिम्मेवारी नेपाल रेडक्रस सोसाइटीले पाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यसअघि प्लान इन्टरनेसनलले निर्वाह गर्दै आएको भूमिका रेडक्रसलाई प्रदान गरेको हो ।
मकवानपुर जिल्लाबाट प्लान इन्टरनेसनल बाहिरिने हुनाले उक्त जिम्मेवारी रेडक्रसलाई प्रदान गरिएको हो । प्लान इन्टरलेसनलले मकवानपुरमा रहँदा गैरसरकारी संस्थाका तर्फबाट विपद्मा उद्धारलगायत विभिन्न सहयोग गर्दै आएको थियो । लामो समय मकवानपुरमा काम गरेको प्लान इन्टरनेसनल यसै वर्षदेखि मकवानपुरबाट बाहिरिँदै छ ।
यस्तै बैठकले जिल्लाका विभिन्न स्थानमा खोलाले बगाएर मृत्यु भएकाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । गत असोज १२ गतेयता खोलाले बगाएर मृत्यु भएका छ जनाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
त्यस्तै बैठकले जिल्लास्थित विभिन्न नदी, खोला, खहरेहरुमा वर्षाका बेला आइपर्ने समस्या न्यूनीकरणका लागि त्यस्ता प्रभावित स्थानबाट नदीजन्य पदार्थ निकाल्ने निर्णय गरेको छ । स्थानीय तहबाट पहिचान भइआएका स्थानहरुमा प्राविधिकसहित स्थलगत निरीक्षण गरी प्रभावित स्थानबाट आवश्यक नदीजन्य पदार्थ निकाल्ने निर्णय गरेको हो ।
स्थलगत निरीक्षण गरी रिपोर्ट पेस गर्नेगरी जिससका शाखा अधिकृत भीमलाल महर्जनको नेतृत्वमा जिप्रकाका अधिकृत प्रतिनिधि, डिभिजन वन कार्यालयका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका प्राविधिक प्रतिनिधि र जिससका प्राविधिक प्रतिनिधिसहितको पाँच सदस्यसमिति समेत गठन गरिएको छ ।
प्रहरी उपरीक्षक राठोर सम्मानीत
वाग्मती प्रदेशको मकवानपुरस्थित जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरलाई सम्मान गरिएको छ । अन्यायमा परेका र असहाय महिला, बालिकाहरुको उद्धार कार्यमा सघाउ पुर्याएको जनाउँदै सामाजिक संस्था मञ्जुश्री असहाय संरक्षण केन्द्रको मकवानपुर शाखाले मङ्गलबार प्रहरी उपरीक्षक राठोरलाई सम्मान गरेको हो ।
अन्यायमा परेका र असहाय महिला, बालिकाहरुको उद्धार, संरक्षण तथा न्यायको क्षेत्रमा मञ्जुश्री असहाय संरक्षण केन्द्रको मकवानपुर शाखाले काम गर्दै आइरहेको छ । नेपाल सरकारले गत असोज ३ गते संविधान दिवसको अवसरमा प्रहरी उपरीक्षक राठोरलाई प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित गरेको सन्दर्भमा हेटौँडामा एक कार्यक्रमबीच संस्थाले सम्मान गरेको हो ।
कार्यक्रममा प्रहरी उपरीक्षक राठोरले मकवानपुर जिल्लामा भएका विभिन्न घटनामा संलग्न दोषीहरुलाई नियन्त्रणमा लिएर कानूनी दायरामा लिन मकवानपुर प्रहरी सफल भएको जिकिर गरे । मञ्जुश्री असहाय संरक्षण केन्द्रका केन्द्रीय अध्यक्ष मञ्जु खाँडले हाल देशका २३ जिल्लामा रहेका केन्द्रका शाखाले बालबालिकाको संरक्षणमा काम गर्दै आइरहेको जानकारी दिए ।




