काठमाडौ । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला यतिबेला सोलुखुम्बु पुगेका छन् । हिमाल आरोहणका लागि नेपाल आएका राजकुमार अब्दुल्ला आमादब्लम हिमालको आधार शिविर पुगेका हुन् । केही दिनअघि नेपाल आएका राजकुमार अब्दुल्लासहित १४ सदस्यीय टोली आमादब्लम हिमालको आधार शिविर पुगेका छन् ।
विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविर पुगेको छ ।
अहिले आरोहणको लागि डोरी फिक्सिङको काम भइरहको र मौसमले साथ दिएमा राजकुमारसहितको टोलीले दुई हप्ताभित्र आरोहण सकेर काठमाडौं फर्किने हिमालयन गाइड्स नेपालले जनाएको छ । अन्यभन्दा कमै आरोहण हुने छ हजार ८ सय १२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो ।
यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले सोलुखुम्बुको छ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल र आठ हजार १ सय ५६ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेको थियो । टोलीमा राजकुमार अब्दुल्लासहित अमेरिकी र क्यानेडियन गरी छ जना विदेशी र ११ जना नेपाली गरी १६ जना छन् ।




