काठमाडौं । नेपाली काँग्रेस एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति ओखलढुङ्गाका पूर्व जिल्ला सभापति प्रेमराज राईको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले मंगलबार एक शोक विज्ञप्तिमार्फत पूर्व जिल्ला सभापति राईको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
नेपालमा प्रजातन्त्र स्थापनाका क्रममा स्व राई पटक–पटक जेलजीवन र प्रवाससमेत बस्नु भएको थियो । स्व राईले पार्टी सङ्गठनमा पु¥याएको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै सभापति देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । पूर्व जिल्ला सभापति राईको ७२ वर्षको उमेरमा सोमबार राति काठमाडौँको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्व राई काँग्रेसका नेता स्व बलबहादुर राईका ज्येष्ठ सुपुत्र छन् । स्वर्गीय राईले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको काँग्रेसले जनाएको छ ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आजै अस्पताल पुगी उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । श्रद्धाञ्जलि अर्पण गर्नका लागि पार्टीका महामन्त्री डा शशाङ्क कोइराला, सहमहामन्त्री डा प्रकाशरण महत, केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूलगायतका नेताहरु एवं पार्टीका कार्यकर्ता अस्पताल पुगेका थिए।
स्वर्गीय राईको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि मङ्गलबार नै ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका –१ मोलीमा रहेको उनको पुख्र्यौली निवासतर्फ लगिएको छ । उनका श्रीमती, दुई छोरा, दुई छोरी छन् । विसं २००४ असार ११ गते जन्मेका राई सानै उमेरबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदै आएको थिए । पिता बलबहादुर राई प्रवासमा रहँदा प्रेमराज राई पनि भारतमै रहे । पञ्चालयतकालमा पटक–पटक गरी उनी साढे तीन वर्ष जेल परेका थिए ।




