मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असोज २९ गते सोमबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा केपी ओली वास्तविक एमाले होइनन् ः प्रचण्डदेखीकोशी विद्रोहबारे सभापति देउवा र नेता कोइरालाले जवाफ दिनुपर्छः महामन्त्री शर्मासम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार
केपी ओली वास्तविक एमाले होइनन् : प्रचण्ड

धनगढी । प्रधानम्त्री एवम् नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली वास्तविक एमाले नभएको बताएका छन्। समाजवादी मोर्चाले आज धनगढीमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै दाहलले ओली वास्तविक एमाले नभएको टिप्पणी गरे। ‘अहिले एमालेको नेतृत्व जसले गरेको छ। उहाँ रियल एमाले होइन, उहाँ संघीयतावादी, गणतन्त्रवादी होइन’, प्रचण्डको आरोप छ।सरकारले भ्रष्टाचारविरुद्ध अभियान र सुशासनको पक्षमा ठूलो काम गरेको प्रचण्डको भनाइ छ।

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको स्थगित भएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना सार्वजनिक गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले असोज ३० गते दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित गरेको जानकारी दिए । राष्ट्रिय सभाको बैठक अर्को सुचना नआउँदा सम्मका लागि स्थिगित भएको जनाइएको छ ।
‘सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ महासचिव गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

यमबहादुर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा गलत भएको रक्षामन्त्री खड्काको दावी

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीलाई भावी प्रधानसेनापति बनाउने विषयमा गलत प्रचार भएको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित पत्रकार महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । मन्त्री खड्काले उमेर र अवधि संम्भव एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट बताए ।

उपप्रधानमन्त्री खड्काले अधिकारीलाई प्रधानसेनापति बनाउने षडयन्त्र भइरहेको भन्दै गलत प्रचार बाहिर नर्छन समेत आग्रह गरेका छन् । अहिले केही सञ्चारमाध्यमबाट गजबको विषय, गलत सूचनामा आधारित झुटो सूचनामा आधारित ठुलो भ्रम सिर्जना गर्ने काम भइरहेकाले यस्तो नगर्न समेत उनले आग्रह गरे ।

सहायक रथी यमबहादुर अधिकारी १० वर्षअघि युद्धमा भएको मुलुकलाई शान्तिमा रुपान्तरण गर्ने दलहरूको सहमतिबाट तत्कालीन माओवादीका लडाकुहरूलाई नेपाली सेनामा केही सङ्ख्यामा समायोजन गर्ने सहमति अनुसार तोकिएको मापदण्ड, भएको सहमति, नेपाली सेनाको परम्परा, संस्थागत स्थिति, सम्बन्धित ऐन, नियमलाई प्रतिकुल असर नपर्ने गरी समायोजनको बन्दोबस्त गरिएको उनले बताए ।

यमबहादुर अधिकारी २०७६ सालको सरकारले अतिरिक्त सहायक रथीको पद सिर्जना गरेर बढुवा गरेको थियो । सहायक रथीको पदावधि सात वर्षको हुन्छ । नेपाली सेनाको नियम प्रक्रिया अनुसार चार वर्ष पुग्दा सरकारमा गएकाले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्था छ उनले भने,‘ त्यसका लागि सेनाको एउटा बोर्ड छ । त्यो बोर्डले सम्बन्धित अधिकृतको आफ्नो कार्यकालको भुमिका प्रभावकारिताको मूल्याङ्कन गरी बढुवाको लागि सिफारिस गर्छ

।’

मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन्। शनिबार संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन्।

कांग्रेसबाट विद्रोह गरेका आठ तथा एमालेका ३९ प्रदेश सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए। आइतबार शपथ लिएका कार्कीले एमाले तथा कांग्रेसबाट एक–एकजना गरी विनाविभागीय मन्त्रीसमेत नियुक्त गरेका छन्। तर उनको शपथमा कांग्रेसको संस्थापन र माओवादीलगायतका दलले बहिष्कार गरेकाले कार्कीलाई विश्वासको मत दिने सम्भावना निकै न्यून छ ।

गृहमन्त्री श्रेष्ठ बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन चीन प्रस्थान

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् ।चीनमा हुने तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका हुन् । चीनको राजधानी बेइजिङमा मंगलबार र बुधबार बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे समेत छलफल हुने कार्यक्रम गृहमन्त्री श्रेष्ठले संम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ ७ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनतर्फ प्रस्थान गरेका हुन् । उनले चीन भ्रमणका क्रममा चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् चिनियाँ कम्युनिस्ट पार्टी सचिवालय सदस्य वाङ सियाङसीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले आयोजना गरेको रात्रिभोजमा सम्मेलनको पहिलो दिन साँझ उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ सहभागी हुने उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी हुनेछन् ।

चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो ।

तीन दिनमा एक लाख ५० हजार यात्रु बाहिरिए

नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार तीन सय नौ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए। उनका अनुसार असोज २७ बिहान ६ बजेसम्म ४७ हजार छ सय ४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार दुई सय ७९ र आज बिहान ६ बजेसम्म ५१ हजार तीन सय ८७ यात्रु बाहिरिएका छन् ।

ट्राफिकले अघिल्लो दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको रेकर्ड राख्दै आएको छ । ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वको यातायात सहजताका लागि ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र एक हजार आठ सय जनशक्ति परिचालन गरेको प्रवक्ता भट्टले बताए। काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमासमेत घर जाने यात्रुको भीड लागेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताए ।

लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्याधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयको भन्दा अगाडि सारेका छौँ,” उनले भने । दसैँका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए ।

सरकारले दसैँकोे यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताए । यात्रुलाई सहज रुपमा गन्तव्यस्थल जानका लागि महासङ्घले केही बससमेत थप गरेको उनको भनाइ छ ।

कर्णाली प्रदेश निजामती सेवा विधेयक प्रमाणीकरण

कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २७१ को उपधारा (२) बमोजिम आज उक्त विधेयक प्रमाणीकरण गरेका छन् । कर्णाली प्रदेशसभा सचिवालयबाट आइतबार प्रदेश प्रमुखको कार्यालयले निजामती सेवा विधेयक प्राप्त गरेको थियो । उक्त विधेयक प्रदेशसभाबाट यही असोज २२ गते सर्वसम्मतले पारित भएको थियो । विधेयक कर्णाली प्रदेशको राजपत्रमा प्रकाशनपश्चात् अब ऐन बनेर कार्यान्वयनमा जानेछ । यसले प्रदेश निजामती सेवाको गठन, सेवामा रहने तह तथा पदको व्यवस्था, दरबन्दी सिर्जना, माग, पदपूर्ति, सेवासुविधा, सरुवा, बढुवा, क्षमता अभिवृद्धि, वृत्तिविकास तथा उनीहरुको अभिलेखीकरणमा सहयोग पुग्नेछ ।

प्रदेशको प्रशासन सञ्चालन गर्न प्रदेश निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्त तथा निजामती कर्मचारीको व्यवस्थापनका सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केन्द्रीय निकायका रुपमा काम गर्ने ऐनमा व्यवस्था गरिएको छ ।

नापी कार्यालयका सर्वेक्षक एक लाख बढी घुससहित नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवलाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार जग्गा कित्ताकाट गरेवापत ७० हजार रुपियाँ नगद र ५५ हजार रुपियाँको चेक गरी सेवाग्राहीसँग एक लाख २५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय, इटहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

कोशी विद्रोहबारे सभापति देउवा र नेता कोइरालाले जवाफ दिनुपर्छः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा भएको विद्रोह बारे सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाले जवाफ दिनुपर्ने बताएका छन् । सभापति देउवाले बोलाएको उपसभापति र महामन्त्रीहरुको बैठकपछि बोल्दै महामन्त्री शर्माले कोशीको विद्रोह बारे बैठकमा आफ्नो धारणा राखेको बताउदै नेतृत्वले अब यसलाई समाधान गर्नुपर्ने बताए ।

उनले अब कांग्रेसको मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताउदै यो घटनामा सभापति देउवा र नेता कोइराला दुवै जिम्मेवार रहेकोले उनीहरुले जवाफ दिनुपर्ने बताएका छन् । गठबन्धन गरिसकेपछि त्यसलाई निभाउनुपर्ने आफ्नो धारणा रहेको बताउदै उनले कोशीको अवस्था सिर्जना हुनुमा सभापतिको पनि कमजोरी रहेको टिप्पणी गरे ।

उनले भने– ‘कोशीमा कुनै दलको भागमा भनेर निर्णय भएको थिएन । कोशी प्रदेशमा एमालेसहितको सरकार बन्नुपर्छ भन्ने हामी दुई महामन्त्रीको जोड थियो । पटक पटक विश्वासको मत सिद्ध गर्न नसकेको अवस्था आयो । सभापतिले माओवादीको नेतालाई मुख्यमन्त्री बनाउने निर्णयमा पार्टीका हामी दुई महामन्त्रीको साथ थिएन । तर यसको अर्थ माओवादीले पाउनु हुदैन भन्ने होइन ।’

सभापतिले निर्णय गरे पनि त्यो निर्णय पार्टीको हुने चलन कांग्रेसमात्र नभएर अन्य दलमा पनि रहेको उनले बताए । महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्ड, सभापति देउवा र शेखर कोइरालाबीच सहमति भएको विषयमा आश्चर्य व्यक्त गरे । गठनबाटै प्रधानमन्त्री रहेका प्रचण्डले गठबन्धनप्रति प्रतिबद्ध छौं भनेर किन सहमति गर्नुपर्ने भन्दै प्रश्न गरेका छन् ।

खाद्यले ग¥यो खसीबोका र च्यांग्राको मूल्य निर्धारण

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्यांग्राको मूल्य निर्धारण गरेको छ ।आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जिउँदो खसी र बोकाको मूल्य प्रतिकेजी ६८० कायम गरेको छ भने च्यांग्राको मूल्य प्रतिकेजी एक हजार २६० रुपैयाँ निर्धारण गरेको छ । यो मूल्यमा १० रुपैयाँ छुट दिने निर्णय भएको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्यांग्रा काठमाडौं ल्याएको हो । कम्पनीको थापाथलीस्थित वाग्मती प्रादेशिक कार्यालयबाट खसीबोका र च्यांग्रा बिक्री गरिनेछ ।

यो वर्ष दुई हजार खसीबोका र एक हजार च्यांग्रा बिक्री गर्ने कम्पनीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *