काठमाडौँ । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्यायका लागि भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । आचार्यले उठाएका २५ बुँदे माग पूरा गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारसँग प्रदर्शनकारीले माग गरेका छन् ।
काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शनमा सहभागीले ‘यो देश हो कि बधशाला ? अर्को जल्दो शरीर मेरो नहोस्’, ‘उद्यमशील नेपाल नारा मात्रै हो सरकार ? ठूला व्यापारी कसको आश्रयमा, प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हो सरकार ? यो आत्महत्या होइन हत्या हो’ जस्ता नारासहितको पम्लेट बोकेका थिए ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि मंगलबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका ३७ वर्षीय आचार्यको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो ।












