फिचर

राजतन्त्र फर्काउने सपना बोकेका ७९ वर्षीय बेदराज के भन्छन् ?

काठमाडौं । अर्घाखाँची जिल्लामा पन्चायतकालदेखी नै राजनीतिमा सक्रिय भई पटक–पटक प्रधानपञ्च भइसकेका व्यक्ति हुन् बेदराज घिमिरे । अर्घाखाँची जिल्लाको मैदान गाउँ पन्चायतको २०२४ सालदेखि २०४६ सालसम्म अविछिन्न नेतृत्व गरेका घिमिरे अहिले पनि चुनावी मैदानमा छन् ।

उनी गाउँपालिका उपाध्यक्षको प्रत्याशी बनेका हुन् । घिमिरे स्थानीय तहको निर्वाचन २०७९ को चुनावी मैदानमा रहेका अर्घाखाँचीका सबैभन्दा पाका उम्मेदवार हुन् ।

जीवनको उत्तरार्द्धमा पनि जोस जाँगर उत्तिकै छ उनीमा । घिमिरेका पहिलेका सपना र अहिलेका सपना भने निकै फरक छन् । तिनै सपनाको भारी बोकेर ७९ वर्षको उमेरमा पनि उनी सक्रिय छन् । उतिवेला बेग्लै योजना हुन्थे, घिमिरे भन्छन्, तर अहिले सपना बदलिएका छन् । राजतन्त्र फर्काउनुछ, हिन्दुराज्य स्थापना गर्नु छ ।

गाउँपालिकाको उपाध्यक्ष बनेपछि राजतन्त्र फर्किएला ? भन्ने प्रश्नमा घिमिरेले भने, निर्वाचित भएपछि मैले समुन्नत गाउँपालिका बनाउँछु अनि देशभर जितेपछि राप्रपाको नेतृत्वमा राजतन्त्र फर्किनेछ । घिमिरेले राजतन्त्र फर्काउन, हिन्दु राज्य स्थापना गर्न र संघीयताको खारेज गर्नका लागि आफू सक्रिय राजनीतिमा रहेको बताए ।

ुकृषिको व्यवसायीक विकास गरी गाउँमै आत्मनिर्भर बन्ने अवस्था बनाउँछु, घिमिरेले भने, शिक्षा तथा स्वास्थ्यमा आमूल परिवर्तन ल्याउनुछ, जुन काम मैले मात्रै गर्न सक्छु । ठूला भनिएका दलहरू देश लुट्नमात्रै सक्रिय रहेको नेता घिमिरेको दाबी रहेको थियो ।

राप्रपाका नेता समेत रहेका घिमिरेले गाउँपालिका उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवारी दिएका हुन् । म राप्रपाकै कार्यकर्ता हुँ, घिमिरेले भने, अध्यक्ष र उपाध्यक्षमा राप्रपाबाट दुवैजना पुरुष उम्मेदवार भएका कारण मैले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको हुँ । घिमिरेले चुनाव चिन्ह पुतली प्राप्त गरेका छन् ।